‘हामीले गरेको कोरोना परीक्षणमा शंका गर्नुपर्ने ठाउँ छैन’

  चैत ०५, २०७६

काठमाडौँ , चैत ५ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारी भनेर घोषणा गरिसकेको छ । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये एक जनामा मात्रै कोरोना भाइरस पोजिटिभ देखिएको छ । नेपालमा हुने परीक्षण तथा त्यसको गुणस्तर र विश्वसनीयता सम्बन्धमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झासँगको कुराकानीको सम्पादित अंश :

कोरोना संक्रमणको आशंकामा के कति नमुना परीक्षण भइरहेका छन् ?

एकदिनमा यति नै परीक्षण हुन्छ भन्ने छैन । दिनमा २–३ वटादेखि ६–७ वटासम्म परीक्षण गरिरहेका छौँ । इन्फ्लुएन्जाको परीक्षण भने दैनिक ५० वटासम्म हुने गरेका छन् । हालसम्म ४ सय ७८ परीक्षणमा एउटा मात्र पोजिटिभ भेटिएको छ ।

महामारी फैलिएमा नेपाल जनस्वास्थ्य प्रयोगशालाको क्षमता कस्तो छ ?

क्षमता हामीले अवस्था हेरेर बढाउँदै लैजाने हो । अहिले एउटा टिमले काम गरिरहेको छ । दिनको २ सयसम्म नमुना परीक्षण गर्न सकिन्छ । कोरोना अनि इन्फ्लुएन्जाको टेस्ट जोड्दा त दैनिक १ सयवटा नमुना परीक्षण गरिरहेका छौँ । हाम्रो टिममा अहिले ६ जना छौं । क्षमता बढाउँदै जाँदा प्रयोगशालाले दिने अरू सेवाहरू घटाउँदै लैजानुपर्ने हुन्छ । जस्तै, एचआईभीको सेवालाई कटौती गरिदिने र त्यहाँको टिमलाई यसमा परिचालन गर्ने । धेरै परीक्षण आए भने त्यसरी पनि जाने योजनामा छौँ ।

प्रयोगशालाको जनशक्तिलाई प्रयोग गरेर हामीले ६ सयसम्म दैनिक परीक्षण गर्न सक्छौँ । त्योभन्दा बढी भयो भने बाहिरको जनशक्ति हामीलाई आवश्यक पर्छ । ल्याब पूर्वाधार छ तर मान्छेचाहिँ पुग्दैन । धेरै नमुना परीक्षण गर्नुपर्‍यो भने स्ट्यान्डबाई राख्ने गरी ६ जनालाई हायर गर्ने सोचेका छौँ । त्यसका लागि विज्ञापन खुलाउने तयारीमा छौँ । १ हजार ५ सय जनाको परीक्षण गर्ने क्षमता छ तर जनशक्ति पुग्दैन । प्राविधिक कामका लागि हामीले विज्ञहरू हायर गर्नुपर्ने हुन्छ । त्योभन्दा बढी गर्नुपर्‍यो भने अरू ल्याब पनि छन् । हामीसँग तीनवटा अरू ल्याब तयारी अवस्थामा छन्, आवश्यक परे प्रयोग गर्न सकिन्छ । तीनवटा ल्याब संक्रामक रोग परीक्षणका लागि तयारी अवस्थामा छन् भने बाँकी तीनवटा ल्याब आधा मात्र तयार छन् ।

नेपालको परीक्षण विश्वसनीय छ ?

हामीले गरेको परीक्षणमा शंका गर्नुपर्ने ठाउँ छैन । हालसम्म एक जनाको मात्र पोजिटिभ देखिएको छ, त्यो खुसीको कुरा हो । गडबडी तथा शंका हुनुपर्ने ठाउँ देख्दिनँ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै हामीले परीक्षण गरेका हौं । नमुना क्रसचेकका लागि हङकङ पठाउँदा पनि त्यही रिपोर्ट आएको छ । त्यसैले हाम्रो ल्याब तथा परीक्षणमा कुनै खराबी छैन । कसैलाई खुसी पार्न नेगेटिभ परीक्षणलाई पोजिटिभ देखाउन हामी सक्दैनौं । त्यही ल्याबले इन्फ्लुएन्जाको रिपोर्ट दिँदा मान्ने, अनि कोरोनाको नमान्ने ?

प्रयोगशालामा परीक्षण गर्न मेसिन तथा किट पर्याप्त छ त ?

हामीसँग पीसीआर मेसिन चारवटा छन् । कुनैले ४८, कुनैले ७८ तथा कुनैले ९६ नमुना लिन सक्छ । मेसिनमा हालिसकेपछि दुई घण्टाजति लाग्छ रिपोर्ट आउन । एकदम संवदेनशील टेस्ट हो, समय लाग्छ । कोरोना भाइरसका लागि नै भनेर प्रयोग हुने केमिकल हामीसँग पर्याप्त छ ।

नेपालमा कोरोनाको परीक्षण भएकै छैन, भएको भए त देखिन्थ्यो भन्नेहरू पनि छन् नि ?

त्यस्तो भन्नेलाई म बिरामी फेला पारेर ल्याइदिनुहोला भन्छु । उपचारका लागि त अस्पताल गइहाल्छन् नि । सर्वसाधारणलाई तर्साइएको हो । रोग लुकेको छ होला भन्ने छ । बाहिरबाट नआएको र भित्र–भित्र सारिरहेका भए पनि बिरामी त आउनुपर्ने हो । परीक्षण झूटो भएको भए खरिपाटीमा राखिएका विद्यार्थीहरूमा केही देखिन्थ्यो होला । खोइ त उनीहरू कुनै समस्या लिएर आएका छैनन् । अहिले प्रदेशस्तरमा मन्त्रालयले सानो पीसीआर मेसिन लिने कुरा भएको छ । त्यसले थोरै मात्रामा भए पनि टेस्ट गर्न सक्छ । नफैलियोस् भन्ने चाहना हो । हामीसँग पीपीई १ हजार ५ सय जति होला । महामारी फैलिएमा कोरोनासँग लड्नका लागि तयार छौँ ।

कोरोना टेस्टको प्राइभेट ल्याबका लागि कति जनाले आवेदन दिए ?

कोरोना भाइरसको टेस्टको कुनै प्राइभेट ल्याबसँग त्यस्तो क्षमता छ भने समन्वय गर्न सकिन्छ । २–३ जनाको आवेदन आएको छ । परीक्षण गर्नका लागि संक्रामक रोगविरुद्धको सेटअप हुनुपर्‍यो । परीक्षण गर्ने व्यक्तिको सुरक्षा र भाइरसको सुरक्षा दुवै हुनुपर्‍यो । त्यति कुनै ल्याबसँग छ भने विचार गर्न सकिन्छ । पछि धेरै केसहरू आएर हाइलोड भयो भने मसिन मागेर पनि ल्याउन सकिन्छ वा त्यहाँका अनुभवी जनशक्ति काम लाग्छन् ।

तपाईंको टिम कत्तिको समर्पित छ ? कोही डराएका त छैनन् ?

खरिपाटीमा राखिएकाको परीक्षणका बेला उनीहरूले राम्रो संयोजन गरे । उनीहरूलाई परामर्श दिनै परेन । स्वस्फूर्त रूपमा खटाइएपछि सहजै स्वीकार गरेर गए । मनमा डर लाग्यो होला तर खुसी खुसी तयार भए । खरिपाटीको क्वारेन्टाइनमा पनि नमुना परीक्षणका लागि उनीहरू नडराई गए । कर्तव्य पालना गरेकोमा खुसी छु । स्रोत : कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया