काेराेनाकाे हल्लाले पेट्राेल पम्पमा लाइन, आपूर्तिमा समस्या छैन : निगम

  चैत ०५, २०७६

काठमाडौं, चैत ४ : नेपाल आयल निगम थानकोट डिपोले आफूहरुसँग पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्दात रहेको बताएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको र डिपोसँग पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौजाद रहेको बताएको हो ।

नेपाल आयल निगम थानकोट डिपो प्रमुख बिनितमणि उपाध्यायले जस्तोसुकै अवस्थामा समेत नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने गोरखापत्र अनलाइनले जनाएको छ ।

राजधानी काठमाडौसँगै देशका प्रमुख शहरहरुमा पेट्रोलियम पर्दाथको अभाव देखिने गरि पेट्रोलपम्पहरुमा लाइन लाग्न सुरु गरेसँगै थानकोट डिपोले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौजाद रहेको र एक दुई दिनमै पेट्रोलपम्पमा लागेको लाईन हट्ने उपाध्यायले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।

केही दिन यता कोरोना त्रास र हल्लाका कारण राजधानीको पेट्रोल पम्पहरूमा सवारी साधनको लाईन देखिन थालेपछि मागे अनुसार पम्पहरुलाई पेट्रोलियम पदार्थ पठाइएको जनाएको छ । ‘सामान्य अवस्थामा भन्दा यतीबेला पेट्रोलियम पदार्थको माग दुईगुणा धेरै रहेको छ’ उपाध्यायले भन्नुभयो ‘ माग अनुसार हामीले बजारमा पेट्रोलियम पदार्थ पठाएका छौ ।

नेपाल आयल निगम थानकोट डिपो प्रमुख उपाध्यायले मंगलबारमात्रै १२ सय किलो लिटर (१२ लाख )पेट्रोल र १३ सय किलोलिटर(१३ लाख ) डिजेल बजारमा पठाउने जानकारी दिनुभयो ।  डिपो प्रमुखले उपाध्यायले हल्लाको भरमा पेट्रोलियम पदार्थको भण्डारण गर्न नहुने र यसले कुनै पनि बेलामा भयानक क्षति र दुर्घटना निमत्याउने हुदा संवेदनशील बस्तुको भण्डार नगर्न र पम्पहरूले पनि सवारी साधनमा मात्रै पेट्रोलियम पदार्थ दिन अनुरोध गर्नुभयो ।

निगमले नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

तपाईको प्रतिक्रिया