विश्वभर संक्रमितमध्ये ८० हजार निको भए, करिब एक लाख उपचारारत

  चैत ०४, २०७६

पेरिस, चैत ४ : मंगलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले संक्रमणका कारण उपचार सेवा लिइरहेका छन् । उपचारारतमध्ये ९२ हजार ५५९ जना अर्थात ९३ प्रतिशत व्यक्तिमा सामान्य खालको संक्रमण देखिएको छ भने ६ हजार ४९१ अर्थात सात प्रतिशत व्यक्तिमा जटिल खालको संक्रमण रहेको छ ।

चीनमा मंगलबारसम्म ८० हजार ८८१ व्यक्तिमा संक्रमण भएकामा तीन हजार २२६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै नयाँ संक्रमितको संख्या २१ र विगत २४ घण्टामा १३ जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतहरूबाट लिएको तथ्यांकमा उल्लेख छ । त्यसपछि बढी प्रभावित यूरोपेली मुलुक इटालीमा २७ हजार ९८० व्यक्तिमा संक्रमण भएको र दुई हजार १५८ व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै इरानमा १६ हजार १६९ व्यक्तिमा संक्रमण पुष्टि भएको, मंगलबार थप एक हजार १७८ जनामा संक्रमण भेटिएको र संक्रमणका कारण थप १३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या ९८८ पुगेको छ ।

स्पेनमा मंगलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरसको पुष्टि, ४९१ को मृत्यु
स्पेनमा मंगलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ संक्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ११ हजारभन्दा बढी पुगेको छ ।

कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र युरोपमा दोस्रो मुलुक बनेको छ । भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भए पनि पछिल्ला केही दिनमा चीनमा नयाँ संक्रमण दर सरदर एक अंकमा झरेको बताइएको छ । चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ ।

संक्रमणको प्रभाव युरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा संक्रमणका कारण कूल ९३ जनाको मृत्यु भएको छ भने चार हजार ७४४ जनामा संक्रमण भेटिएको छ ।

तपाईको प्रतिक्रिया