लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार

  चैत ०४, २०७६

रुपन्देही, चैत ४ : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार भएको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना प्रदेश योजना आयोगले तयार गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शंकर पोखरेल समक्ष आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले अस्पतालको गुरुयोजना बुझाए ।

गुरुयोजना बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेश योजना आयोगले सरकारको एउटा अवधारणालाई मूर्तरुप दिने काम पूरा गरेको भन्दै अब योजना पूरा गर्नु सरकारको जिम्मेवारी भएको बताए ।

यो योजना पूरा गर्न केन्द्र र प्रदेश सरकार मिलेर स्रोत व्यवस्थापन गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पोखरेलले बुटवललाई व्यावसायिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउँदै भने, ‘व्यवसायीले पनि जुन अवस्थामा बसेका छौँ त्यही अवस्थामा बस्न पाउनुपर्छ भन्ने चिन्तन हटाउनुहोस्, यो पुरानो चिन्तन हो । यसलाई सरकारले स्वीकार्न सक्दैन ।’ मुख्यमन्त्री पोखरेलले सरकारले टहरा भत्काएको कुरामा कुनै अफसोंच नगर्न आग्रह गरे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सुविधासहित अत्याधुनिक भवन निर्माणका लागि गुरुयोजना तयार गरिएको बताए । गुरुयोजना प्रस्तुत गर्दै इन्टेरियर इञ्जिनीयर विष्णु पन्थीले विशेषज्ञ सुविधासहित अस्पतालको मुख्य भवन र अन्य संरचना निर्माणका लागि १४ अर्बको बजेट अनुमान गरिएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया