माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

  चैत ०३, २०७६

माले, चैत ३ : दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ ।

राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गर्नुभयो । उहाँले कोरोना भाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताउनुभयो ।

पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरु झिकाइने बताउनुभयो । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । माल्दिभ्सले कोरोनाभाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ ।

तपाईको प्रतिक्रिया