कोरोनाले जात्रा पनि प्रभावित

  चैत ०३, २०७६

काठमाडौँ, चैत ३ : चैत महिना काठमाडौँ उपत्यकाको जात्राको महिना हो । चैतदेखि वैशाखको अन्त्यसम्म उपत्यकाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् । कोरोना भाइरसप्रति सजग हुन, भीडमा सहभागी नहुन सरकारले आग्रह गरेपछि यी पर्व पनि प्रभावित भएका छन् ।

सरकारले नागरिकलाई अनावश्यक जमघट नगर्न तथा भीडभाड हुने कार्यक्रम नगर्नसमेत आग्रह गरेको छ । यो सँगै काठमाडौँ महानगर, भक्तपुर नगर र ललितपुर महानगरपालिकाले पनि सचेत हुन आग्रह गरिसकेका छन् । कतिपय स्थानमा जात्राको तयारी तीव्र छ ।

ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनले पाटनका परम्पराका नेवार बस्ती रहेका ४० टोलको बैठकले जात्रापर्व जस्ता भीडभाडमा सहभागी नहुने र मानिसको भीड हुने भोज भतेर पनि हाल स्थगित गर्ने निर्णय गरेको बताउनुभयो । असन चोकमा हुने भद्रकाली कङ्केश्वरी लुचुभुलु अजिमा लगायतका देवताको खट जुधाउने जात्रालाई के–कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको बताइएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशी जात्रापर्वलाई हाल साङ्केतिक रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । चलिआएको परम्परा यस्तो बेला रोक्न हुन्न भनेर कतै नलेखिएको बताउँदै संस्कृतिविद् जोशीले जात्रामा भीडभाड हुँदा महामारी फैलिन सक्ने भएकाले सतर्क हुनुपर्ने उहाँले बताएको गोरखापत्र अनलाइनले जनाएको छ ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग भने पर्व रोक्न नहुने बताउनुहुन्छ । चैतमा रुखमा मुना पलाउँछ पछि पलाओस् भनेर जसरी भन्न सकिन्न त्यसरी नै पर्वजात्रा पछि चलोस् भनेर रोक्न नहुने उहाँको धारणा छ । उहाँले भीडभाडमा स्वास्थ्यप्रति सजग हुनुपर्ने कुरा बताउनुभयो । अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले भने चैतको सुरु सातामै हुने बज्रेश्वरी र बच्छलेश्वरी जात्रामा भीडभाड कम नहुने र जात्रा राम्रैसँग सञ्चालन हुने बताउनुभयो ।

साँखुको बज्रयोगिनी, मातातीर्थको महालक्ष्मी, हाँडीगाउँको गहना खोज्ने, ठिमीको जिब्रो छेडाउने, भक्तपुरको भैरवनाथ र नगदेशको महालक्ष्मी जात्रा लगायत कीर्तिपुर पाँगा, ठैव, ठेचो, हरिसिद्धि जात्रा र बालाजु बाइसधारा स्नान, सपनतीर्थ मेला लगायत उपत्यकामा दर्जनौँ जात्रा वैशाखको अन्त्यसम्म परेका छन् । संस्कृतिविद् सत्यमोहन जोशीले यो जात्रापर्वलाई यो साल साङ्केतिक रूपमा मनाउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया