हुम्लाबासी महंगो हवाई भाडा तिर्न बाध्य

  चैत ०३, २०७६

सिमकोट चैत ३ : कोरोना भाइरसको सन्त्रासले सबैतिर हवाई उडान प्रभावित भई रहेका बेला हिमाली जिल्ला हुम्लामा आउने यात्रुहरु भने महंगो हवाई भाडा तिर्न बाध्य भएका छन् । दुई दिन नेपालगंञ्ज बस्नु प-र्याे भने यात्रुहरुलाई बढी खर्च लाग्ने भएपछि महंगो टिकट तिरेर भएपनि जिल्ला भित्रनु पर्ने बाध्यता यात्रुहरुको रहेको हो ।

सोमबार नेपालगञ्जबाट सिता एयरमा हुम्ला आउनु भएका यात्रु कुन्जोक लामाले तेह्र हजार १ सय २५ रुपियाँ हवाई भाडा तिरेर आएको बताउनुभयो । जब कि नेपालगंजबाट सिमकोटका लागि चार्टर फ्लाईटको भाडा दश हजार पाँच सय रुपियाँ रहेको छ । लामा मात्र होइन उहाँको समुहमा रहनु भएका अन्य १३ जनाले पनि सोही दरमा भाडा तिर्नु भएको उहाँले बताउनुभयो । यसरी महंगो टिकट तिर्नुको बाध्यता बारे बताउदै लामाले एक दुई दिन टिकट नपाएर नेपालगञ्ज बस्नु प-र्याे भने थप खर्च लाग्ने भएपछि समुहै मिलेर महंगो भाडा तिर्न सहमत भएको बताउनुभयो । उहाँहरु सबैको टिकटमा भने दश हजार पाँच सय मात्र उल्लेख गरिएको छ । सो फ्लाईटमा एक जना एसइई परिक्षा दिने विधार्थीलाई भने दश हजार पाँच सयमा उडाईएको गोरखापत्र अनलाइनले जनाएको छ ।

यस सम्बन्धमा सीता एयर नेपालगजका स्टेशन इन्चार्ज मनोज भारतीले आफुलाई थाहा नभएको बताउनुभयो । उहाँले सीता एयरले प्रति यात्रु दश हजार पाँच सय मात्र लिएको बताउनुभयो । यो टिकट बढी असुली भएको बारे आफुलाई जानकारी नभएको र यात्रुहरुले पनि हुम्ला पुगेपछि भन्दा पनि बिहान काउण्टर चेकको बेला भनेको भए समस्या समाधान हुने बताउनुभयो । एयरलाईन्सका कर्मचारी र नेपालगञ्ज एयरपोर्टमा काम गर्ने एजेन्टहरुको कस्को दोष हो पत्ता लगाउन प्रमाण नभएको बताउदै उहाँले यात्रुहरुको पनि दोष देखाउनु भएको छ ।

यो सिजनमा हुम्लाबाट ब्यापार व्यवसाय गर्न, चिसो छल्न, एसइई परिक्षाको तयारी गर्न जिल्ला बाहिर जानु भएका हुम्लाबासीको फिर्ता हुने समय भएको कारण नेपालगंजमा निक्कै भिडभाड हुने गर्छ । प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले उताको बिषय भएको कारण आफुले केही गर्न नसक्ने बताउदै तर पनि आफुले बुझ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया