कोटेश्वर–कलंकी सडकमा कम गतिमा गुड्ने गाडी बायाँ लेनबाट

  चैत ०३, २०७६

काठमाडौं, चैत २ : कोटेश्वर–कलंकी आठ लेन सडकखण्डमा आजदेखि निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरी नयाँ नियम लागू गरिएको छ । उक्त सडकमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी बाया सर्भिस लेन तथा निजी र साना सवारी साधन दाया लेनबाट मात्र चलाउन पाइने व्यवस्था लागू गरिएको हो ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित गर्न, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ती बसाउन उक्त नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले कोटेश्वरमा आज एक समारोहका बीच उक्त नियम लागू भएको घोषणा गर्नुभएको हो ।

सो क्रममा कलाकार जितु नेपाल, केदार घिमिरेलगायत प्रहरी अधिकृत, यातायात व्यवसायीको उपस्थिति रहेको थियो भने ट्राफिक नियमसम्बन्धी सचेतनाको लागि सारङ्गी टोलीले सांगीतिक प्रस्तुती दिएको थियो । लेन प्रयोगका लागि पहिलो चरणमा प्रचारप्रसार गरिने र त्यसपछि नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रु एक हजार ५०० सम्म जरिवाना गर्ने जनाइएको छ । यसअघि भक्तपुरको जडिबुटीबाट सूर्यविनायकसम्म उक्त नियम लागू गरिएको थियो । अर्काे चरणमा कोटेश्वर– गौशाला र कलंकी नागढुंगामा उक्त नियम लागू गर्ने तयारी गरिएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया