‘कोरोना संक्रमण रोक्न सरकार योजनावद्ध तवरबाट अघि बढ्दैछ’

  चैत ०३, २०७६

काठमाडौं, चैत २ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभएको छ । पोखराका पर्यटन व्यवसायीको टोलीले संघीय सरकारसँग रहेका समस्या समाधानका लागि बुझाएको ज्ञापनपत्र आज बुझ्दै मन्त्री पोखरेलले कोरोनाको वास्तविकता र भाबी सरकारको योजनाका बारेमा जानकारी दिनुभयो ।

उहाँले सरकारले देशव्यापी छलफल तथा सहकार्य अघि बढाएको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले छलफलबाट आएको निष्कर्षकै आधारमा सरकारले जनमुखी तथा व्यवसायीमुखी योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । समस्याबाट नआतीकन सहकार्य र समाधानको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कोरोनाकै कारण भ्रमण वर्ष २०२० सरकारले रोकेको र आगामी दिनमा भ्रमण वर्षको नयाँ योजना बनाई अघि बढ्ने बताउनुभयो । जनता तथा व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले सरकारलाई सबैको साथ र सहयोग अपरिहार्य रहेको औँल्याउनुभयो ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको समस्या समाधान गर्न योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभयो । पर्यटन व्यवसायलाई मर्न नदिने प्रतिबद्धता जनाउँदै मन्त्री खतिवडाले मुलुकको आर्थिक समृद्धिको आधार नै पर्यटन भएको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२० का लागि मात्र नभई जहिले पनि विश्वभरबाट नेपाल आउने पर्यटकको गन्तव्यको रुपमा रहेको बताउँदै उहाँले व्यवसायीलाई परेको समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कोरोना भाइरस चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उहाँले नियन्त्रण नभएको अवस्थामा प्राथमिकताको आधारमा योजना अघि बढाउनेसमेत जानकारी गराउनुभयो । कोरोनाले नेपालमा कति समय प्रभाव पार्छ ? भन्ने विषयमा कोही कसैले केही बताउन नसक्ने उल्लेख गर्दै उहाँले सरकारले १५ दिन, एक महिना, तीन महिना तथा त्योभन्दा बढी कति प्रभाव पार्छ ? त्यसलाई दृष्टिगतगरी गर्दै व्यवसायमुखी योजनाहरु ल्याउने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो ।

व्यवसायीले राखेको मागका सवालमा सकारात्मक रहेको उल्लेख गर्दै उहाँले सरकारलाई समेत सबैको साथ, सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक, सामाजिक, पर्यटनलगायतका क्षेत्रहरुको विकास र समृद्धिका लागि प्रतिपक्षसँगको समेत सहकार्य गरी अघि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारी, निजी संघसंस्था, सरोकारवाला निकाय तथा मिडियाकर्मी सहकार्यमा सरकार जनताको समस्या तथा विकासप्रतिको चाहना पूरा गर्न तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको नेतृत्वमा आएको टोलीले आज सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै टोलीले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा आपतकालीन अवस्था सिर्जना भएको उल्लेख गर्दै पर्यटन व्यवसाय धरासायी भएको स्पष्ट पारेको छ । बैंकबाट ऋण लिई लगानी गरेको जानकारी गराउँदै सो टोलीले मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा संघीय सरकारले विशेष प्याकेजको घोषणा गरी व्यवसायीमा राहतको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रतिनिधिको रुपमा आउनुभएको पहारीले ज्ञापनपत्र बुझाउँदै विश्व बजारमा नेपालले एक मात्र प्रतिस्पर्धा गर्नसक्ने व्यवसाय पर्यटन भएकाले यसलाई तीनवटै तहका सरकारले विशेष रुपमा गम्भीर रुपमा लिई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोरोनाका कारण हाल विश्वभरको पर्यटन क्षेत्र धरासायी भएको उल्लेख गर्दै उहाँले विश्व अर्थतन्त्रमा समेत यसले तहसनहस बनाएकाले नेपालका पर्यटन व्यवसायीलाई सरकारले विशेष प्याकेजको घोषणा गरी पर्यटन व्यवसायलाई जोगाउनु तीनवटै सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य पहारीले हाल पोखरामा मात्र ४६२ वटा होटल, ३८८ ट्राभल एजेन्सी, २१२ ट्रेकिङ एजेन्सी, ६० वटा प्याराग्लाइडिङ कम्पनी, १०० वटा गार्मेन्ट सप, १०० जति टे«किङ इक्युप्मेन्टलगायतका पर्यटन कार्यालयबाट इजाजत लिई २५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जानकारी गराउँदै गण्डकी प्रदेशमा गरिबी निवारणको प्रमुख आधारसमेत पर्यटन क्षेत्र भएको उल्लेख गर्नुभयो ।

पर्यटन व्यवसाय इतिहासकै शून्य अवस्थामा पुग्न लागेको उल्लेख गर्दै उहाँले पर्यटन उद्योगमा भएको लगानीलाई संरक्षण गर्नका लागि सरकारका तर्फबाट कुनै पहल नभएमा उद्योग नै धरापमा परी लगानी पलायन हुँदै राज्य नै असफल भई ठूलो आर्थिक संकट हुनेतर्फ सचेत भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया