पूर्वसांसद शेर्माको निधनमा शोक प्रस्ताव पारित

  चैत ०२, २०७६

काठमाडौँ, चैत २ : राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य शेर्माको गत बुधबार निधन भएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत हुनुहुन्थ्यो ।

विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री हुनुभएको थियो । उहाँले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गर्नुभएको थियो ।

विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्मा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो । शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ३ गते अपराह्न १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया