पोखरामा फुटबल रंगशाला निर्माण अन्तिम चरणमा

  चैत ०२, २०७६

कास्की, चैत २ : शिलान्यासको एक वर्षपछि पर्यटकीय शहर पोखरामा देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्ष फागुन अन्तिम साता १६ हजार ५०० दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला चार महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भएकामा लामो समय रंगशालाको ढाँचा तयार नहुँदा काममा ढिलाइ भएको थियो ।

हाल निर्माणाधीन रंगशालाको ९० प्रतिशत हाराहारी काम सकिएको बताइन्छ । आगामी चैत १५ भित्रमा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । रंगशालामा अघिल्लो सम्झौता भन्दा तीन हजार ५०० सिट थप गरिने भएको छ । पर्यटकीय तथा फुटबल आकर्षण रहेको शहर पोखरामा कम्तीमा पनि २० हजार क्षमताको रंगशाला निर्माण गर्न खेलकर्मीले माग गर्दै आएका थिए ।

राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी तीन महिनाभित्रमा २० हजार दर्शक क्षमताको प्यारापिट तयार गर्ने गरी काम अघि बढेको बताउनुभयो । यहाँको फुटबल माहोल, प्राकृतिक सुन्दरता आदिका कारणले रंगशालाको क्षमता वृद्धि गर्ने योजनामा पुगिएको उहाँको भनाइ थियो ।

रंगशालाभित्रसमेत आवश्यकता अनुसार विभिन्न खेलका पूर्वाधारको स्तरोन्नति गरिने सिलवालको भनाइ छ । रु एक अर्ब २८ करोड लागतमा फुटबल रंगशाला निर्माणको लागि राखेप र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स ईन्फ्रा(जेभी)बीच सम्झौता भएको थियो । क्षमता वृद्धिसँगै यसको लागत समेत केही बढ्ने बताइन्छ ।

निर्माण चरणमै रहेपनि हिमशृंखला सहितको मनमोहक रंगशालाको सुन्दर तस्वीर यतिबेला स्वदेश तथा विदेशमा चर्चित बनेको छ । सुन्दर शहरमा अन्तरराष्ट्रियस्तरको आकर्षक फुटबल रंगशाला बनेपछि यसलाई पोखरेलीले गौरवको रुपमा लिएका छन् । साउनयता निर्माणकार्यले गति लिएर सागको महिला फुटबल यही खेलाइए पनि अधिकांश काम बाँकी रहेको थियो ।

सागमा तीन हजार ५०० सिट जडान गरी प्यारापिट तयार भएकामा हाल मैदानको चारैतिर गरी १६ हजार ५०० दर्शक अट्ने गरी प्यारापिटमा सिट जडान गरिसकिएको निर्माण कम्पनीले जनाएको छ । रंगशालाको उत्तरमा तीन हजार ४४४, दक्षिणमा तीन हजार ६९०, पश्चिममा तीन हजार ८१४ र पूर्वीभागमा पाँच हजार २६८ सिट जडान गरिएको छ ।

त्यसैगरि अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २२८ तथा अशक्तका लागि २८ सिट जडान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले जानकारी दिनुभयो । निर्माणाधीन रंगशालामा १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । स्वरुप फेरिएको रंगशालाको सुविधासम्पन्न प्यारापिटमा बसेर दर्शकले खेलको मज्जा लिएका छन् ।

आहा रारामा कोरोना संक्रमणको त्रासका कारणले दर्शक केही कमी भए पनि रंगशाला पुग्ने दर्शक व्यवस्थित रंगशाला देखेर मोहित हुने गरेका छन् । “जुन रंगशाला तयार भएको छ । यो विश्वको अन्य कुनैपनि देशमा यति सुन्दर छैन । बाँसको अस्थायी प्यारापिटमा बसेर खेल हेर्ने हामीहरु अहिले खुशी छौँ”, फुटबल समर्थक अं्कित पोखरेलले भन्नुभयो ।

पोखरा फुटबल रंगशाला परियोजनाका प्रबन्धक दीपक बरालले अघिल्लो सम्झौता अनुसार अब केही काम मात्र बाँकी रहेको बताउनुभयो । थप संरचना निर्माणका लागि काम अघि बढेको उहाँ बताउनुहुन्छ । “खेलकूदमन्त्री, यहाँका खेलप्रेमी सबैको चाहना पोखरामा बढीभन्दा बढी क्षमताको रंगशाला बन्नुपर्दछ भन्ने छ, यही अवस्थामा समेत २० हजार पु¥याउन सकिन्छ ।

सोही अनुसार प्यारापिट सामग्री तयार गर्ने कार्य शुरु भएको छ ।” प्रबन्धक बरालले भन्नुभयो । अति विशिष्ट प्यारापिटमा छानो छाउने, शौचालयको फिनिसिङ, अति विशिष्ट प्यारापिटको तल कपडा फेर्ने (चेञ्जिड रुम), रेफ्री, मेडिकल कोठा, कन्फ्रेन्स हल, सिष्टम कन्ट्रोल कक्ष, भिआइपी लाउन्ज एण्ड रेष्टुरेन्ट र मिडिया कक्षको काम भइरहेपनि कोरोना भाइरस संक्रमणको त्रासले काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ ।

तोकिएको समयभित्रमा बाँकी सबै काम सम्पन्न गर्ने तयारी थियो । तर घर गएका भारतीय कामदार कोरोना भाइरसको संक्रमणको डरले आइनपुग्दा अवरोध सिर्जना भएको बताइन्छ । रंगशालाको क्षमता वृद्धि गर्ने तयारी भएपछि फ्रान्समा प्यारापिटका सामग्री निर्माणको लागि ‘अर्डर’ भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीले फ्रान्सबाट रंगशालाका निर्माण सामग्री ल्याउने गरेको छ । विसं २०३९ मा निर्माण गरिएको फुटबल रंगशालाको विशिष्ट कक्ष विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । सागको महिला फुटबल पोखरामा सञ्चालन गर्ने तय भएसँगै आधुनिक र अन्तरराष्ट्रिय मापदण्डको फुटबल रंगशाला निर्माण शुरुआत गरिएको हो ।

तपाईको प्रतिक्रिया