चन्द्रागिरिले नगर–प्रहरी राख्ने

  चैत ०२, २०७६

काठमाडौँ, चैत २ : काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन, कानून निर्माण भइसकेकाले अब आउने बैठकले निर्णय गरेर प्रहरी भर्ना गर्न लागेको जानकारी दिनुभयो । शुरुमा २५ जना भर्ना गर्न लागिएको छ । “चन्द्रागिरीले नगर प्रहरीका लागि आवश्यक पर्ने भ्यानसमेत खरिद गर्न लागेको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले दमकल र एम्बुलेन्स पनि खरिद गर्न लागेको छ । आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि चालू आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरीमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद गर्न लागेको जानकारी दिनुभयो ।

नगरपालिकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिका–८ नं वडामा १५ श्याको नगरस्तरीय अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । सोही अस्पतालमा बिरामी ओसारपसारका लागि एम्बुलेन्स खरिद गर्न लागिएको नगरप्रमुख गिरीले बताउनुभयो । यस्तै, नगरपालिकाले चालू आर्थिक वर्षमा नागढुंगादेखि कलंकीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो ।

काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुंगामा प्रवेशद्वारसमेत निर्माण गर्न नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुंगा–कलंकी सडकखण्डमा सिसिटिभीसमेत जडान गरिनेछ । सिसिटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज हुने भएकाले त्यसको लािग रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । चन्द्रागिरी वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा छन् ।

तपाईको प्रतिक्रिया