मास्कमा कालोजबारी : आठ जनाबाट ७८ हजार मास्क बरामद

  चैत ०२, २०७६

काठमाडौ, चैत २ : मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ७८ हजार थान माक्स बरामत गरेको हो । काठमाडौं महानगरपालिका–१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे रोसी गाँउपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीया मिन्टु तामाङ, सोही ठाउँ घर भई ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय मानकाजी लामा, रामेछाप गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–२ सानो भ-याङ बस्ने २३ वर्षीय अनिष कार्की, बाजुरा छेदेदह गाउँपालिका–६ घर भई हाल ललितपुर एकान्तकुना बस्ने २१ वर्षीय थुमराज उपाध्याय, बाजुरा वडिमालिका–१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय निर्प कार्की, काठमाडौं नागार्जुन नगरपालिका–२ सानो भ-याङ बस्ने २८ वर्षीय उज्वल अधिकारी, रामेछाप घर भई हाल ललितपुर पाटन बस्ने २४ वर्षीय शिव खड्का र काभ्रे रोसी गाँउपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने २० वर्षीय निशान तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित आवसमा मिन्टु तामाङले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी उक्त मास्क लुकाई छिपाई बढी मूल्यमा बिक्री बितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको गोरखापत्र अनलाइले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा पाँच रुपियाँभन्दा कम पर्ने मास्कलाई ३१ रुपियाँ मूल्य कायम गरी बिक्री बितरण गर्न लागिरहेको खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया