आमा सुरक्षा कार्यक्रम : कोहलपुरमा निजी अस्पतालमा भीड

  चैत ०२, २०७६

राँझा, चैत २ : सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क सेवा उपलब्ध गराए पनि सरकारीतर्फ आकर्षण बढ्न सकेको छैन ।

प्रसूति सेवा लिनेको संख्या निजीको तुलनामा सरकारी स्वास्थ्य संस्थामा अत्यधिक न्यून छ । चालू आर्थिक वर्षको छ महिनामा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट आठ हजार १८६ ले सेवा लिँदा कोहलपुरमै रहेको सरकारी सुविधासम्पन्न स्वास्थ्यचौकीबाट जम्मा ५३ जनाले सेवा लिएको नर्सिङ अधिकृत शोभा अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाअन्तर्गतकै शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट यो अवधिमा १२४ ले सेवा लिएकका छन् ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको तथ्यांकअनुसार शिक्षण अस्पताल कोहलपुरबाट दुई हजार ४१० ले सामान्य प्रसूति सेवा, १३० जटिल प्रकारका सेवा र ४३ जनाले जटिल प्रसूति व्यवस्थापन गरिएको छ । यस्तै ९२९ ले शल्याक्रिया सेवा, एक हजार १३८ ले नियमित गर्भजाँच, सुत्केरीलाई यातायात खर्च तीन हजार ५३८ जनाले लिएको र एण्टी डी ६५ जनाले लगाएका छन् ।

कोहलपुर र शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट कुनै पनि गर्भवती सेवाग्राहीले एण्टी डी सेवा र जटिल प्रसूति सेवा, संस्थागत प्रसूति यातायात खर्च र शल्यक्रियालगायतका सेवा लिएका छैनन् । कोहलपुर स्वास्थ्यचौकीबाट जम्मा २१ ले सामान्य र ११ जनाले नियमित गर्भजाँच गराएको पाइएको छ । शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट ४७ ले सामान्य सेवा र ३० जनाले नियमित गर्भजाँच गराएका छन् ।

तीनवटै स्वास्थ्य संस्थाबाट चालू आवको साउनदेखि कात्तिकसम्म जम्मा एक हजार ६९७ ले सामान्य प्रसूति सेवा, ६६ ले जटिल प्रसूति सेवा, ३३७ ले शल्यक्रिया, ७२५ जनाले नियमित गर्भजाँच सेवा लिएका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत चालू आवको छ महिनामा करिब रु दुई करोड खर्च भएको छ । गत साउनदेखि पुस मसान्तसम्म कूल रु एक करोड ८८ लाख ९८ हजार १०० रकम खर्च हुँदा आठ हजार बढीले सेवा लिएको नर्सिङ अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा सुरक्षा कार्यक्रममार्फत कोहलपुर स्वास्थ्यचौकीबाट प्रोत्साहन भत्ताको रुपमा रु ५० हजार ८०० र शम्शेरगञ्ज स्वास्थ्यचौकीमा रु एक लाख १८ हजार खर्च हुँदा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट रु एक करोड ८७ लाख २९ हजार ३०० प्रोत्साहन भत्ता खर्च भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले निजी अस्पतालमा गुणस्तरीय सेवा मिल्छ भन्ने बुझाइले शिक्षण अस्पतालमा आकर्षण देखिएको हुनसक्ने बताउनुभयो । उहाँले गाउँमै रहेका स्वास्थ्यचौकीबाट पनि निःशुल्क प्रसूति सेवा उपलब्ध हुने कुराको प्रचारप्रसार गर्दै गुणस्तरीय सेवा दिनतर्फ नगरपालिका अग्रसर रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया