राष्ट्रिय सभाका नयाँ सदस्यको आज समिति तोकिने

  चैत ०२, २०७६

काठमाडौँ, चैत २ : संघीय संसद राष्ट्रिय सभामा आएका नयाँ १८ सदस्यहरुका लागि आज समिति तोकिने भएको छ । राष्ट्रिय सभा अन्तर्गत रहेका चारवटा समितिमा कुन सदस्यहरु कहाँ रहने टुङ्गो लाग्न लागेको हो । आज दिउँसो १ बजे बस्न लागेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुको मनोनय प्रस्ताव प्रस्तुत हुँदैछ । राष्ट्रिय सभाक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाई सदस्य बाहिरिने र त्यति नै सङ्ख्यामा भित्रिने प्रक्रिया रहेको छ । यसरी भित्रिएका नयाँ सदस्यहरुका लागि समितिमा तोकिन लागेको गोरखापत्र अनलाइनले जनाएको छ ।

दलहरुको सिफारिशअनुसार सदस्यहरुको समिति तोकिने छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दलहरुले सदस्यको समिति तोकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । सबै समितिहरुमा बराबर सङ्ख्या तोक्नेभन्दा पनि सदस्यहरुको रुचिअनुसार समिति तोक्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सङ्ख्या विभाजन गर्नुभन्दा पनि रुचि र प्रभावकारी भूमिका जहाँ निर्वाह गर्ने आधारमा समितिमा पठाउने सुझाव ससचिवालयको छ ।”

दलहरुले पनि नयाँ सदस्यहरुको रुचिअनुसार समितिमा पठाउने मनसाय व्यक्त गरेका कारण केही दिन ढीला भएको हो । साना र प्रतिपक्षी दलका सदस्यहरुले कुन समतिमा बस्ने भन्नेमा प्राथमिकता पाउने उहाँले बताउनुभयो । समाजवादी र राजपाबाट निर्वाचित सदस्यहरुले रोजेर जुनसुकै समितिमा पनि बस्न पाउने छन् । राजपाका दुईजना सदस्य एउटै समितिमा भने बस्न पाइने छैन । नेपाली काङ्ग्रेसका छजनामध्ये दुई÷दुईजना दुईवटा र अन्य दुई समितिमा एक/एकजना बाँडिनुपर्नेछ ।

प्रतिपक्षी दलबाट सबै सदस्यको तय भइसकेपछि नेकपाका सदस्यहरुलाई समिति तोकिनेछ । अघिल्लो बैठकमा नै सदस्यहरुको समिति तय रहने भन्ने भएपनि दलहरुले थप समय मागेका कारण आइतबारसम्म लम्बिएको हो ।

राष्ट्रिय सभामा ५९ सदस्यहरु रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभामा छ जना सदस्य बाँकी रहेका छन् । राष्ट्रिय जनता पार्टीबाट दुईजना र संघीय समाजवादीबाट एकजना सदस्य छन् । बाँकी सबै सदस्य नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट रहेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र राष्ट्रिय सभाबाट मन्त्री बनेकाहरु भने समितिमा नरहने व्यवस्था राष्ट्रिय सभा नियमावलीमा रहेको छ । यसले गर्दा अध्यक्ष, उपाध्यक्ष र मन्त्री बनेका दुईजना सदस्य भने समितिमा रहनुहुँदैन । बाँकी ५५ जना सदस्यहरुले समितिमा बसेर काम गर्नुहुन्छ । नयाँ सदस्यहरुको आगमनसँगै समितिमा रहेका पुराना सदस्यहरुको पनि समिति फेरबदल हुनसक्ने सम्भावना रहेको छ ।

राष्ट्रिय सभामा तीन जना सदस्य मनोनित भएर आउने व्यवस्था रहेको छ । मनोनित भएर आउनुभएका अर्थ मन्त्री युवराज खतिवडाको गत फागुन २१ गतेदेखि राष्ट्रिय सभा सदस्यको म्याद सकिएको छ । गएको माघमा निर्वाचित भएर १८ जना सदस्य आएपनि मनोनित हुनुपर्ने एकजना सदस्य भने अझै रिक्त नै रहेको छ । निर्वाचित भएर आउने सदस्यहरुले फागुन २१ गते शपथ ग्रहण गरेका थिए । उनीहरुले शपथ ग्रहण गरी २१ गते नै बैठकमा सहभागी भएका हुन् ।

तपाईको प्रतिक्रिया