‘कोरोनाका कारण एसइई परिक्षा रोक्नुपर्ने अवस्था आउँदैन’

  चैत ०१, २०७६

कठमाडौं,चैत १ : कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसइइ परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ ।

कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नुपर्ने अवस्था नआएको भन्दै परीक्षा रोकेर विद्यार्थी तथा अविभावकहरुलाई त्रास फैलाउन नहुनेतर्फ पनि सचेत हुनुपर्ने उच्च सरकारी अधिकारीहरू भनाई रहेको छ ।

परीक्षा रोक्ने , विद्यालय बन्द गर्ने तर खुला नाका यथावत सञ्चालन हुने, उद्योग कलकारखाना निर्वाध सञ्चालन भइरहने, व्यापारीक स्थल, सार्वजनिक यातायात यतावत सञ्चालन हुन दिइरहने तर विद्यालयमा कोरोनाको त्रास फैलाउँदै एसइइ रोक्नुपर्ने कुनै कारण नरहेकोले निरन्तर सञ्चालन हुनुपर्ने बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले हालसम्म कोरोना भाइरस नदेखिएकोले विद्यार्थीहरूलाई त्रास फैलाएर एसइइ परीक्षा रोक्नुपर्ने पक्षमा आफू नरहेको जानकारी दिनुभयो ।
गोरखापत्रसँग कुरा गर्दै मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले पनि वर्तमान परिस्थितिको आँकलन गरेर परीक्षा रोक्ने सुझाव नदिएको भन्दै उहाँले परीक्षा नरोकिने प्रष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले दिने सुझावको आधारमा शिक्षा मन्त्रालय अगाडि बढ्छ । उहाँले उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको समितिले अन्तिम निर्णय गर्ने जानकारी दिदै अन्यत्र खुला गरेर परीक्षा रोक्दा विद्यार्थी र अविभावकमा नकारात्मक असर पर्ने बताउनुभयो ।

सरकारले पनि कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति बनाएको छ मन्त्री पोखरेलले भन्नुभयो,“त्यसमा पनि आवस्यक छलफल भइरहेकाछन् , तर सरकार परीक्षा रोक्नुपर्छ भन्ने पक्षमा छैन ।”

१० वर्ष मुनिको बालबालिकामा संक्रमण नभएको , ४० वर्ष माथि उमेरकालाई देखिएको, ज्येष्ठ नागरिक, दीर्घरोगीहरूमामात्र कोरोना संक्रमण देखिएको आधारमा पनि परीक्षा हुने मन्त्री पोखरेलको भनाई छ ।

उहाँले प्लान ए र प्लान बी बनाएर सरकारले काम गरीरहको जानकारी दिदै प्लान ए अनुसार नै शिक्षा विज्ञान प्रविधि मन्त्रालयले अहिले रणनीति बनाएरै काम काम गरीरहेको बताउनुभयो । सचेतना फैलाउने काम शिक्षा मन्त्रालयले गर्ने भन्दै ६० लाख विद्यार्थी लाई कोरोना बारे ठीक ढंगले बुझाउनुपर्ने अवस्था हुनसक्छ भन्नुभयो ।

परीक्षा गराउने तयारी अन्र्तगत १९९५ वटा परीक्षा केन्द्रमा हेल्थ डेष्क राख्ने निर्णय भइरहेको जानकारी दिनुभयो । तीनै तहको सरकारले मिलेर परीक्षा गराउनुपर्ने हुन्छ पोखरेलले थप्नुभयो,“ तीनवटै तह मिलेर परीक्षा सफल बनाउँछौ ।”

प्रमुख जिल्ला अधिकारीकोे नेतृत्वमा सुरक्षा र स्वास्थ्यका मानिसलाई बोलाएर आवस्यक निर्णय लिन सक्ने भन्दै उहाँले विद्यार्थीमा त्रास फैलाउनेतिर लाग्न नहुने बताउनुभयो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिलेसम्म नेपालमा कोरोना भाइरस नदेखिएकोले परीक्षा रोक्न नहुने बताउनुभयो ।

उहाँले उच्च सर्तकता अपनाउँदै दैनिकीलाई कायम गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेको बताउनुभयो । हामीसँग केही लक्षण देखिएको भए , रोग संक्रमणको अवस्था भएको भए रोक्नु सान्दर्भिक हुन्छ मन्त्री घिमिरेले भन्नुभयो,“ नत्र परीक्षा रोक्नुको कुनै औचित्य छैन ।”

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले कोरोना भाइरस नियन्त्रणको लागि उपप्रधान तथा रक्षा मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति बनेको जानकारी दिदै प्रदेशले मात्र एकल निर्णय लिन नसक्ने बताउनुभयो । उहाँले राष्टियस्तरको परीक्षा भएको हुनाले राष्टिय स्तरमा छलफल गरेर अघि बढ्ने जानकारी दिदै परिस्थितिको सामना गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले परिस्थिति अनुसार निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले कोरोना फैलन नदिन उच्च सतर्कता अपनाउनुपर्ने भन्दै केन्द्रको निर्णय अनुसार अघि बढ्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एसइइ परीक्षामा स्वास्थ्यको दृष्टिकोणले कुनै असर नपर्ने बताउनुभयो । उहाँले परीक्षा केन्द्रमा स्थानीय तहसंग समन्वय गरी हेल्थ डेष्क राख्ने निर्णय भइसकेको जानकारी दिनुभयो ।

उहाँले एसइइ परीक्षा रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो । ज्वरो , रुघाखोकी लागेका विद्यार्थीहरुलाई छुटै राखेर परीक्षा दिन लगाउने तयारी भइरहेको बताउनुभयो । उहाँले कोरोना भाइरस नेपाल भित्रन नदिने उच्च सतर्कता भने अपनाउन सुझाव दिनुभयो ।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष टिआर ढकालले परीक्षा निर्वाध रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । परीक्षा भन्दा अघि अन्य क्षेत्र बन्द नगरी विद्यालय र परीक्षा रोक्दा विद्यार्थीलाई मानसिक र सामाजिक रुपमा ठुलो असर पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया