कोरना भाइरसबाट बच्न जागरणमूलक सफाइ अभियान

  चैत ०१, २०७६

काठमाडौं, चैत १ : वाग्मती सफाइ महाअभियानलाई कोरना भाइरसविरुद्ध जनचेतना फैलाउन उपयोग गर्न थालिएको छ । सफाइ महाअभियानको ३५७औँ हप्तामा आज सिनामंगल पुल क्षेत्र वरपर घरआँगन, सडक, नदीलगायत स्थल सफा राखौँ भन्दै जागरण गरिएको छ ।

तीनवटै सुरक्षा निकायलाई गत हप्ताको सफाइ अभियानदेखि नै नआउन भनिएको छ । सुरक्षा निकाय भाइरसविरुद्ध लड्ने क्रममा अन्यत्र व्यस्त हुनुपर्ने भएकाले नआउन भनिएको हो । धेरै मानिस जम्मा हुँदा कोरना भाइरसका कारण संक्रमण फैलन सक्ने भएकाले निश्चित अभियानकर्मी मात्र जम्मा भएर चेतना फैल्याइएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । आजको जागरणमूलक सफाइ अभियानमा १४ संस्थाका १२० अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो । यसैगरी चक्रपथ पश्चिम खण्ड सफाइ अभियानको १३७औँ हप्तामा काठमाडौं महानगरपालिका–१३ र नागार्जुन नगरपालिका–४ क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरियो । सफाइसँगै गरिएको जागरणमूलक कार्यक्रममा शुभेच्छा अन्तरराष्ट्रिय अस्पतालका प्रबन्ध निर्देशक डा होमप्रसाद अधिकारीले कोरनाका कारण नेपालमा धेरै डराउनुपर्ने अवस्था नभए पनि सचेत हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

सो अवसरमा कोरना भाइरसको संक्रमणको त्रासलाई उपयोग गर्दै बजारमा कालोबजारी, कृत्रिम अभाव एवं मूल्यवृद्धिविरुद्ध विरोधसमेत प्रदर्शन गरिएको सफाइ अभियानका संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । केही हप्ता यस्तै कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । सफाइ अभियानका क्रममा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथको उत्तरखण्ड, मनोहरा, वाग्मतीको तिलगंगा र सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि कोरनाविरुद्ध जनचेतनामूलक अभियान गरिएको थियो ।

यी सफाइ अभियानमा निश्चित अभियानकर्मी मात्र उपस्थित भई जागरणमूलक कार्यक्रम गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशभरका १०६ भन्दा बढी स्थानमा चेतनामूलक सफाइ अभियान चलिरहेको छ । देशका अन्य स्थानमा सञ्चालन भइरहेको सफाइ अभियानले पनि चेतनामूलक कार्यक्रम गरी कोरनाविरुद्ध बच्न जागरण फैलाउने महाअभियानले जनाएको छ ।

तपाईको प्रतिक्रिया