रोगले गहुँ नष्ट

  चैत ०१, २०७६

बैतडी, चैत १ : सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो ।

दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि प्राविधिकले बताएका छन् । दोगडाकेदार–२ को घमालीमा गहुँमा सो रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले बताए  । उनले भने, ‘करिब छ हेक्टर जमिनमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।’

गहुँबाली उक्त रोगले सखाप पारेको किसान वीरबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘खेतमा लगाएको सबै गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।’ पाटन नगरपालिका–६ मा गहुँबालीमा त्यही रोगको प्रकोप देखा परेको सो नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए  । गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबाली नष्ट भइरहेको उनले बताए  । उनले भने, ‘रोग अवरोध जात नछरेका कारण गहुँबालीमा सो रोगको प्रकोप देखा परेको हो, ढुसीका कारण पनि गहुँबालीमा यो रोग देखा पर्ने गरेको छ ।’ पाटनमा पनि छ हेक्टर बढी जमिनमा लगाएको गहुँबालीमा उक्त रोगको प्रकोप देखा परेको जनाइएको छ ।

गहुँबालीमा रोगको प्रकोप देखा परेकाले यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । यो वर्ष लगातारको वर्षाले पनि गहुँबालीमा विभिन्न रोग देखा परेको उनले बताए  । बैतडीमा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिन्छ जसमध्ये १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको छ ।

तपाईको प्रतिक्रिया