ग्यास सञ्चित नगर्न आग्रह

  चैत ०१, २०७६

काठमाडौँ, चैत १ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको आवश्यकभन्दा बढी परिमाणमा जम्माखोरी नगर्न आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जम्माखोरी गर्ने कार्य तत्काल रोक्न सर्वसाधारणसँग आग्रह गरेको हो।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले विज्ञप्ति जारी गर्दै ग्यासको आपूर्ति भारतबाट नियमित रूपमा भइरहेकाले जम्माखोरी नगर्न आग्रह गरेकी छन्। मन्त्रालयकाअनुसार ग्यासको आपूर्ति सहज गर्न यो महिनामा नियमित खपतभन्दा अतिरिक्त ११ हजार टन ग्यास आयात गर्ने प्रक्रियामा छ।

नेपाल आयल निगमकाअनुसार बिहीबार र शुक्रबार गरी पाँच नाकाबाट नेपालमा दुई सय ८९ बुलेट ग्यास भित्रिएको छ। जसमध्ये बिहीबार एक सय २८ र शुक्रबार एक सय ७३ बुलेट ग्यास नेपालमा भित्रिएको छ। निगमका ग्यास विभागका प्रमुख दीपक बरालकाअनुसार सामान्यभन्दा झण्डै डेढ गुणा बढी ग्यास लोड भएर नेपालमा भित्रिएको छ।

बिहीबार जोगवनी नाकामार्फत पाँच, सुनौली बेलहिया नाकामार्फत १६, रुपैडिया नाकामार्फत ६, रक्सौल नाकामार्फत ९२ र काँकडभिट्टा (पानीटंकी) नाकामार्फत नौ बुलेट आयात भएको थियो। यस्तै शुक्रबार जोगवनी नाकामार्फत १४, सुनौली बेलहिया नाकामार्फत २५, रुपैडिया नाकामार्फत १३, रक्सौल नाकामार्फत एक सय १८ र काँकडभिट्टा नाकामार्फत तीन बुलेट ग्यास आयात भएको छ। यसमध्ये रक्सौल नाकामार्फत बिहीबार आयात भएको ९२ मध्ये ४० बुलेट र शुक्रबार आयात भएको एक सय १८ बुलेटमध्ये ५१ बुलेट राजधानी केन्द्रित छन्।

‘चाहिनेभन्दा बढी परिमाणमा आयात भइरहेकाले जति आवश्यक छ, त्यति परिमाणमा मात्रै ग्यास लिन आग्रह छ’, बरालले भने, ‘आवश्यकभन्दा बढी ग्यास सञ्चिति गरिएकाले एक सिलिन्डर मात्रै भएको निम्न वर्गीय उपभोक्तालाई ग्यास लिन असहज भएको छ।’

यसैबीच शुक्रबार नै वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेत्रप्रसाद सुवेलीले पनि ग्यासको जम्माखोरी नगर्न आग्रह गरेका छन्। घरमा अत्यधिक परिमाणमा ग्यासको जम्माखोरी गर्दा जम्माखोरी गर्ने परिवारलाई ग्यासबाट हुन सक्ने सम्भावित जोखिमसम्बन्धी समस्या आउन सक्ने उनले बताए।

शुक्रबार नै उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको अन्तक्र्रियामा सहभागी भएका सरोकारवाला निकायले पनि ग्याससहित नुन, मास्क, चामल, दाल, औषधिलगायत अत्यावश्यक वस्तुको सञ्चिति नगर्न आग्रह गरेको हो।

मञ्चका अध्यक्ष ज्योति बानियाँ, पत्रकार तीर्थ कोइराला, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मि श्र, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि दिपेन्द्र सिंहलगायतले आवश्यकभन्दा बढी परिमाणमा घरमा जम्माखोरी गर्ने उपभोक्तालाई कारबाहीको दायरामा ल्याउन सुझाव दिए। अन्रपुर्ण पाेस्टबाट साभार

तपाईको प्रतिक्रिया