नेपाली नमस्ते अब ‘ग्लोबल कल्चर’

  चैत ०१, २०७६

काठमाडौँ, चैत १ : गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो।

ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ‘नमस्ते’ गरे । तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको संक्रमण फैलिसकेको थिएन । जब विश्‍वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमाधम ‘नमस्ते’ गर्न थाले । अन्तत: विश्वभर नमस्ते कल्चर नै फैलियो ।

हाल विश्‍वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण सर्नसक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गरिरहेका तस्बिर भाइरल बन्दैछन् । पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हिन्दू सभ्यतामा सदियौँदेखि नमस्ते कल्चर नै स्थापित छ।

तपाईको प्रतिक्रिया