विदेशबाट फर्किदा न सम्पत्ति न श्रीमती

  चैत ०१, २०७६

मकवानपुर , चैत १ : सानुमाया(नाम परिवर्तन) ले मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन् । उनको श्रीमान रामबहादुर(नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए ।

दुई सन्तानकी आमा सानुमायाले विद्यालयमा काम गर्दै घरपरिवारको पालनपोषण गर्दै आएकी थिईन् । तर विदेशबाट रामबहादुर नेपाल फर्कने खबर आयो । अचानक सानुमाया हराईन् । रामबहादुर नेपाल आउने दिन नै सानुमाया विद्यालयकै शिक्षक सन्देश(नाम परिवर्तन)सँग विवाह गरी गएकी रहिछन् ।

उनीसँग दोस्रो विवाह गरेका सन्देशको पनि दुई सन्तान् छन् । पूर्व श्रीमान रामबहादुरले विदेशबाट पठाएको पैसा पनि सानुमायाले लगेको मकवानपुर प्रहरीमा दिएको जाहेरी निवेदनमा उल्लेख छ । यो विवाद अहिले जिल्ला अदालत मकवानपुरमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेश श्रेष्ठले बताए ।

हेटौंडा उपमहानगरपालिकाका कमलेश(नाम परिवर्तन) परिवारको सुखद भविष्यको लागि मलेशियामा दुःख विर्सेर काम गर्दै थिए । मलेसियामा उनले कमाएको करिब १०–१५ लाख रुपैंया श्रीमती रमिला(नाम परिवर्तन)को बैंक खातामा पठाए ।

तर कमलेश मलेसियामा हुँदै ३ छोराकी आमा रमिला अचानक गायब भईन् । कमलेश कम्पनीसँग आकश्मिक विदा लिएर मलेसियाबाट हान्निएर हेटौंडा आए । तर श्रीमतीले विदेशबाट पठाएको सबै पैसा लिएर परपुरुषसँग दोस्रो विवाह गरेको थाहा पाएर कमलेश छाँङाबाट खसेझैं भए ।

त्यसमाथि जग्गा पनि रमिलाकै नाममा थियो । कमलेशले पैसा र जग्गासहित श्रीमती हराएको भन्दै मकवानपुर प्रहरीमा निवेदन दिए । प्रहरीले रमिलालाई खोजी गरी छलफल गर्‍यो । कमलेशलाई जग्गा फिर्ता दिने सहमती गरेपनि पैसा भने दिन नसक्ने बताएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

हेटौंडा १९ का सुदीप(नाम परिवर्तन) पनि करिब ४–५ वर्षदेखि कतारमा रोजगारी गरिरहेका थिए । बुबा, आमाको हेरचाह श्रीमती सृजना(नाम परिवर्तन)को साथमा छोडेर उनी विदेश गए । उनले करिब २०–२५ लाख रुपैयाँ श्रीमती सृजनालाई बैंकबाट पठाए । तर सुदीप नेपाल फर्किनु पनि सृजना एकाएक हराईन् ।

चारैतिर खोजी गर्दा सृजना दोस्रो विवाह गरी विदेश गएको पत्ता लाग्यो । सुदीपले विदेशमा दुःख गरेर कमाएको न पैसाको पत्ता लाग्यो, न श्रीमतीको । अन्ततः उनले फागुनको पहिलो साता मकवानपुर प्रहरीमा उजुरी दिएका छन् ।
यी त प्रतिनिधि घटनाहरु मात्रै हुन् । बैदेशीक रोजगारीमा गएका श्रीमानहरु श्रीमतीबाट पीडित भएको यस्ता थुप्रै घटना छन् । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार विदेशीएका श्रीमानको पैसा लिएर छोरा–छोरीलाई बिचल्ली बनाएर परपुरुषसँग विवाह गरी जाने महिलाविरुद्ध प्रहरीमा उजुरीको संख्या बढेको छ ।

चालू आव २०७६/७७ को फागुन २१ गतेसम्म २० वटा उजुरी श्रीमती हराएको सम्बन्धी रहेको प्रहरीको भनाई छ । नेपालको ऐन, कानून अनुसार बहुविवाह वा दोस्रो विवाह गर्नु गैरकानुनी मानिन्छ ।

चालु आवको आठ महिनामा मकवानपुुरका एक सय ४० महिला हराएको उजुरी प्रहरीमा परेको छ । हराएकामध्ये अधिकांश विवाहित महिला छन् । जसमध्ये मकवानपुर प्रहरीले एक सय ३ जना महिला फेला पारेको छ भने बाँकी ३७ जना अझै फेला परेका छैनन् ।

बेपत्ता रहेका ३७ महिलामध्ये ३२ जना विवाहित हुन् भने पाँच जना अविवाहित हुन् । प्रहरीको तथ्यांक अनुसार फेला परेका एक सय ३ जनामध्ये दश जना महिलाको श्रीमानसँग सम्बन्ध विच्छेद भईसकेको छ । नागरिक दैनिकबाट साभार

तपाईको प्रतिक्रिया