खाद्यान्न अभाव छैन तर त्यतिकै अफवाह फैल्याइँदै

  फागुन ३०, २०७६

काठमाडौंँ फागुन ३० : बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो । यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो । कार्यालय समयमा खुल्ने ग्यास तथा खाद्यान्न बिक्री केन्द्रबाट सामान खरिद गर्न केही उपभोक्ता त्यसअघि नै परिसरमा आइपुगेका थिए ।

विश्वभर कोरोना भाइरसको त्रास फैलिएपछि चिन्तित हुँदै उपभोक्ता साल्ट ट्रेडिङ पुग्न थालेका छन् । त्यहाँका कर्मचारी विगतभन्दा यो धेरै कम भीड हो । होलीभन्दा अगाडि त थेगी नसक्ने भीड थियो, बाहिरसम्म लाइन हुन्थ्यो । त्यहाँ कसैले ग्यास, नुन त कसैले चिनी, कसैले अन्य खाद्यवस्तु खरिद गरिरहेका थिए । रोचक पक्ष त के हो भने अघिपछि एक पोका नुन किन्ने उपभोक्ता दुईदेखि चार पोका अनि पाँच केजीसम्म चिनी खरिद गरिरहेका थिए । केहीले त एक बोरा चिनी र नुन किनेको समेत भेटियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनभन्दा पाँच सय मिटर मात्र दूरीमा बस्ने उपभोक्ता प्रवासबहादुर सिंहले घरकै छेउमा ग्यासको डिपो भए पनि डिपोवालाले ग्यास सकियो भनेपछि यहाँ लिन आएको बताउनुभयो । उहाँले डिपोहरू जानीजानी हाहाकार देखाइरहेका छन् । ‘साँच्चिकै अभाव भए वा हाहाकार थियो भने यहाँ आउँदा यति सजिलो तरिकाले लिन किन पाइन्थ्यो,’ गोरखापत्र अनलाइनमा उल्लेख

साल्ट ट्रेडिङमा केही उपभोक्ता एउटै सामान दुई–दुई पटक आएर किनेको भेटिएको थियो । यस्ता उपभोक्ताप्रति बिक्री कक्षका कर्मचारी कराइरहेको सुनिन्थ्यो । साल्ट ट्रेडिङको बिक्री कक्षका कर्मचारी रुकमणि घिमिरे बजारमा समान अभाव हुने अफवाह फैलिएपछि अघिपछिभन्दा यहाँ पाँच गुणाले बिक्री बढेको थियो । अहिले अलि कम भएको छ भन्नुहुन्छ ।

कोरोनाका कारण उत्पादनमा कमी हुनुका साथै विभिन्न देशले आयात निर्यातमा रोक लगाएका छन् । त्यसले गर्दा खाद्यवस्तु लगायत अन्य उपभोग्य सामग्रीको अभाव हुन्छ कि भन्ने आशङ्कामा आम उपभोक्ताले खाद्यवस्तु लगायत अन्य सामग्री आ–आफ्नो घरमा भण्डारण गर्न लागेका छन् ।

घिमिरेले नाकाबन्दीभन्दा बढी व्यापार भइरहेको जानकारी दिँदै खुद्रा पसल सञ्चालकले पनि नुन तथा चिनी अघिपछिभन्दा बढी लगेको बताउनुभयो । उहाँले घरायसी प्रयोगका लागि थुप्रो सामान खरिद गरेर लगेका छन् तर अहिले निकै कम भएको बताउनुभयो ।

साल्ट ट्रेडिङका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले चार गुणाले कारोवार बढेको बताउनुभयो । दैनिक चार लाख कारोवार हुने ठाउँमा १२–१३ लाख सम्मको कारोवार भएको उहाँले बताउनुभयो । उहाँले होलीभन्दा पहिला अलि बढी नै भीडभाड हुन्थ्यो । अहिले निकै कम भएको छ ।

तपाईको प्रतिक्रिया