नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?

  फागुन ३०, २०७६

धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?

काठमाडाैं, फागुन ३० : कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएकोमा ढुक्क छन् । उनले नयाँ पत्रिकालाई भने, ‘कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन ।’ 

नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना वेलावेलामा हङकङ पनि पठाउँदै आएको छ । ‘संकलन गरेका नमुना हङकङ पनि पठाउने गरेका छौँ । सुरुमा चीनबाट आएका एकजना नेपालीमा पोजेटिभ भेटिएको थियो । उहाँको नमुना पनि हामीले हङकङ पठाएका थियौँ । हङकङबाट पनि पोजेटिभ आयो,’ उनले भने, ‘अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ आयो । त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौँ ।’

नेपालमा हालसम्म चार सय ५० जनाको नमुना परीक्षण गरिएकोमा सुरुमै चीनबाट आएका एक नेपालीमा मात्र कोरोना भेटिएको थियो, उनको पनि उपचार भएको छ । अहिलेसम्म रिपोर्ट आएका चार सय ४९ मा कोरोना भेटिएको छैन । 

तर, संक्रमणको आशंकामा बिरामीलाई वेलावेलामा आइसोलेसनमा राख्ने गरिएको छ । अहिले पनि संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा चार र पाटन अस्पतालमा दुई व्यक्तिलाई भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरूको रिपोर्ट आइसकेको छैन । 

जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिएकामा धेरै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) देखिएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झा प्रश्न गर्नुपर्ने ठाउँ नरहेको बताउँछिन् । ‘मौसमी रुघाखोकीजस्तै कोरोना पनि लुक्ने रोग होइन । त्यस्तो रोग लागेमा लुकाउन सम्भव छैन, ल्याबमाथि पनि शंका गर्ने ठाउँ छैन,’ झाले भनिन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबको गुणस्तर कायम भए–नभएको हेर्न पहिलो पोजेटिभ केसलाई पनि हरेक ब्याचमा परीक्षण गरिरहेको छ । ‘ल्याबको गुणस्तर मापन गर्न सो ब्याच हरेक दिन परीक्षण हुन्छ । तर, त्यसबाहेक अन्य नमुनामा कोरोना पोजेटिभ आएको छैन,’ उनले थपिन् । चिकित्सकहरूका अनुसार कोरोना भए बिरामीको संख्या तीव्र गतिमा बढ्नुपर्छ । तर, यहाँ बिरामीको संख्या बढेको छैन । त्यसले पनि नेपालमा कोरोना नभएको स्पष्ट पार्छ । 

स्वास्थ्य अधिकारीहरूले रुघाखोकीको समय भएकाले मानिसहरूलाई सबै कोरोना हो कि भन्ने शंका लाग्नु स्वाभाविक रहेको बताउँछन् । बरु कसैमा कोरोना भाइरस संक्रमित भएको आशंका भएमा तत्काल खबर गर्न उनको सुझाब छ । ‘कोरोना भाइरस एक व्यक्तिबाट अन्य व्यक्तिमा तीव्र रूपमा सर्ने हुन्छ, तर नेपालमा अहिलेसम्म यसरी बिरामी देखिएको अवस्था छैन । त्यसैले नेपालमा कोरोना छैन भनेर स्पष्ट पार्न सकिन्छ,’ डा. झाले भनिन्, ‘कसैले परीक्षणमा आशंका गरेकै भरमा विश्वास दिलाउन रिपोर्टलाई पोजेटिभ बनाउन मिल्छ ?’ निर्देशक झाले प्रश्न गरिन् । 

परीक्षणको दायरा बढाउनुपर्छ 

चिकित्सकहरूले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण दायरा बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्रै धान्न नसक्ने भन्दै उनीहरूले विश्व स्वास्थ्य संगठनले मान्यता दिएका ल्याबलाई पनि परीक्षणको अनुमति दिनुपर्ने बताए । टेकु अस्पतालका एक चिकित्सकले भने, ‘नेपालका ल्याबको गुणस्तर राम्रो छ । तर, एउटाले मात्रै धान्न नसक्ने अवस्था आउन सक्छ, त्यसैले यसको दायरा बढाउनुपर्छ ।’ टेकु अस्पतालमा हाल तीनजना बिरामी भर्ना भएका छन् । डा. अनुप बास्तोलाका अनुसार कोरोना संक्रमित देशबाट आएका उनीहरू अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् ।

छिमेकी चीनमा पहिलोपटक पुष्टि भएको कोरोनाको संक्रमण अर्को छिमेकी भारतमा पनि फैलिएको छ । भारतमा पहिलोपटक बिहीबार एक व्यक्तिको ज्यान गएको छ । कर्नाटकमा ७६ वर्षका पुरुषको ज्यान गएको त्यहाँका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले ट्विटरमार्फत पुष्टि गरेका छन् । भारतसँगको खुला सीमाका कारण नेपालमा जोखिम झन् थपिएको छ । 

चीन र भारतसँग नेपालको सिमाना जोडिएका एक सय २९ नाका छन् । जसमध्ये ४३ नाकामा मात्रै हेल्थ डेस्क राखिएको छ । ती नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्क्रिनिङ/स्वास्थ्य परीक्षण भइरहेको छ । 

नेपालमा नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै हुन्छ । शंकास्पदलाई आइसोलेसनमा राख्न पहिलो नम्बरमा टेकु अस्पताल तोकिएको छ । त्यस्तै, पाटन अस्पताल र नेपाल एपिएफ अस्पताल पनि तोकिएको छ । 

सरकारले कोरोनासम्बन्धी जानकारी दिन १११५ को हटलाइन नम्बर सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी हटलाइन सेवाबारे जानकारी गराएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शुक्रबार ११ बजेबाट १११५ मा फोन गरेर कोरोना भाइरससम्बन्धी जानकारी लिन सक्ने बताए । 

स्वास्थ्य मन्त्रालयले तीन सय व्यक्तिको सुरक्षित उपचार गर्ने स्थान तय गरिसकेको छ । त्यस्तै, प्रत्येक प्रदेशमा दुईवटाका दरले आइसियू राख्ने भएको छ । सयजनासम्मको उपचार गर्न टेकु अस्पताल तयार गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन सय बिरामी भएको अवस्थामा खरिपाटी क्वारेन्टाइन र कीर्तिपुरको आयुर्वेद तालिम केन्द्र प्रयोग गर्ने तयारी गरेको छ । 

कोरोनाले स्वाइन फ्लु र हङकङ फ्लु ओझेलमा 

कोरोना भाइरसको त्रास रहेकै वेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तर्गत स्वाइन फ्लु र हङकङ फ्लुसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘इन्फ्लुएन्जा ए (एच१एन१) पिडिएम ०९’ र इन्फ्लुएन्जा ए एच३ अर्थात् हङकङ फ्लुका बिरामी बढेका छन् । धेरैजसो यिनै बिरामीलाई कोरोना परीक्षण हुँदै आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. झाका अनुसार स्वाइन फ्लु र हङकङ फ्लुका बिरामी बढेका छन् । दैनिक ५० जनासम्मको नमुना परीक्षणका लागि ल्याबमा आउने गरेको उनले बताइन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शंकास्पद नमुनाको प्रयोगशाला परीक्षणमा स्वाइन फ्लु, हङकङ फ्लु पोजेटिभ भेटिएको छ । संकलित नमुनामध्ये ‘धेरैजसो नमुनामा स्वाइन फ्लु देखिएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुुसार अस्पतालमा दैनिक ३० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन् । प्रयोगशालाको रिपोर्टअनुसार स्वाइन फ्लु, एचवान एनवान २ सय ७८ परीक्षणमध्ये १३ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै, हङकङ फ्लु ८१ जनाको नमुना परीक्षणमध्ये ११ जनामा पोजेटिभ देखिएको छ ।

हेल्थपोस्टका डाक्टरले हचुवामा बनाइदिए कोरोना नभएको प्रमाणपत्र

बारामा विदेश जाने प्रक्रियामा रहेका व्यक्तिलाई हेल्थपोस्टका डाक्टरले हचुवामै कोरोना संक्रमण नभएको प्रमाणपत्र बनाइदिएको भेटिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बाराका मेडिकल अधिकृत डा. दीपेन्द्र यादवले पदीय दुरुपयोग गरेका हुन् । 

सरकारले कोरोना परीक्षण गर्न अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई मात्रै अधिकार दिएको छ । टेकुबाहेक कसैले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउँदैनन् । तर, यादवले विनापरीक्षण कोरोना नभएको प्रमाणपत्र बनाइदिएका हुन् । 

वैदेशिक रोजगारीमा जान म्यानपावर र रोजगारदाता कम्पनीले कोरोना नभएको प्रमाणपत्र माग्ने गरेको र चिकित्सकले आर्थिक लेनदेनमा गैरकानुनी काम गरेको हुन सक्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले त्यस्ता चिकित्सकमाथि कारबाही हुने बताए । ‘ती चिकित्सकबारे सबै जानकारी लिएपछि कारबाही अघि बढाउँछु,’ उनले भने, ‘सरकारलाई सहयोग गर्नुपर्ने वेला बदमासी गर्ने ?’ 

कोरोना संक्रमण नभएको प्रमाणित कागजात बनाउन टेकु अस्पतालमा पनि दैनिक पाँचदेखि १० जनासम्म पुग्ने गरेका छन् । तर, सम्भावित लक्षण नदेखिएकाको परीक्षण नगरिएको चिकित्सकले बताएका छन् ।

पुनः परीक्षणका लागि हङकङ पठायौँ, नेपालको जस्तै रिपोर्ट आयो, ल्याबमा शंका गर्नुपर्दैन 

  • महेन्द्र श्रेष्ठ महानिर्देशक, स्वास्थ्य सेवा विभाग

१. अहिलेसम्म नेपालमा चार सय ५० जना व्यक्तिको कोरोना परीक्षण गरिएको छ । त्यसमध्ये चार सय ४९ जनाको नेगेटिभ रिपोर्ट आएको छ । एकजनाको पोजेटिभ आएको थियो, उहाँको उपचार भयो । उहाँ घरमा स्वस्थ हुनुहुन्छ । 

२. कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन । 

३. नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न हामीले संकलन गरेका नमुना वेलावेलामा हङकङ पनि पठाउने गरेका छौँ । यसमा विश्व स्वास्थ्य संगठनले हामीलाई सहयोग गरेको छ । अहिलेसम्म हङकङ पठाइएका नमुनामा त्यही नतिजा आयो जे नेपालमा थियो । 

४. सुरुमा चीनबाट आएका एकजना नेपालीमा पोजेटिभ भेटिएको थियो । उहाँको नमुना पनि हामीले हङकङ पठाएका थियौँ । हङकङबाट पनि पोजेटिभ आयो । अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ आयो । त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौँ । 

५. हरेक नयाँ ब्याचको कोरोना परीक्षण गर्दा सुरुमा पोजेटिभ भेटिएको नमुना पनि हामीले परीक्षण गरिरहेका छौँ । त्यो नमुना हरेकपटक पोजेटिभ नै आइरहेको छ । नयाँ संकलन गरिएका नमुना भने नेगेटिभ आएका छन् । त्यसैले पनि ल्याबको परीक्षण गुणस्तरीय छ ।

६. चीनको वुहानबाट उद्धार गरेर ल्याइएका एक सय ७५ यात्रु तथा चालक दलका सदस्यसहित दुई सयजनाको नमुना परीक्षण एकैपटक गरिएको थियो । उहाँहरू सबैको नेगेटिभ आयो । अहिलेसम्म परीक्षण गरिएकामध्ये एकजनाबाहेक सबैमा मौसमी रुघाखोकी तथा अन्य किसिमको फ्लु मात्र देखिएको छ, कोरोना देखिएको छैन ।

७. कोरोनाको विषयमा सतर्क हुन जरुरी छ । त्यसैले शंका लागेमा परीक्षण गर्न आउनूस् । तर, अहिले रुघाखोकीको समय हो भन्ने पनि बिर्सनु हुँदैन । त्यसैले आत्तिनु हुँदैन र अरूलाई पनि अत्याउनु हुँदैन । तर, शंका लागेमा परीक्षण गर्न भने ढिला गर्नुहुँदैन ।

पर्यटन भिसा रोक्ने सरकारको निर्णय
‘हेल्थ सर्टिफिकेट’विना आएका चिनियाँ र इटालीका पर्यटक विमानस्थलबाटै फर्काइयो, काँकडभिट्टाबाट पनि विदेशी फर्काइए

कोराना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय पर्यटकको भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएको संक्रमणले युरोप र विश्वभरि महामारीको रूप लिएपछि थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् । संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘सुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशको भिसा रोक्ने निर्णय भएको छ ।’

हवाई उडानमा भने कटौती नगरिएको मन्त्री खतिवडाले बताए । ‘भिसा रोकिएपछि उडान स्वतः कटौती हुन्छ,’ उनले भने । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स, जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो । 

छिमेकी भारतमा पनि संक्रमण बढ्दै गएको अवस्थामा सरकारले थप सतर्कता अपनाउने निर्णय गरेको छ । भारतले आफ्नो देशको नाकामा नियमन गर्दै केही नाकाबाट आवागमन खोल्ने निर्णय गरेको छ, त्यसैले नेपालले पनि स्वतः तिनै नाका मात्र प्रयोग गर्नेछ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयले जिम्मा लिएका छन् । पछिल्लो दिनमा समितिको बैठक नियमितजसो बस्दै आएको छ । बुधबार मात्रै सर्वदलीय बैठक बसेर रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय भएको थियो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेकाले पूर्वतयारीस्वरूप क्वारेन्टाइन सेन्टर, आइसोलेसन वार्ड तथा उपकरणहरू र उपचारका लागि चाहिने यन्त्रहरूको आपूर्ति बढाउने निर्णय पनि बैठकले गरेको छ । ‘पूर्वतयारीस्वरूप त्यस्तो सेन्टर बनाउँदा सम्भव भएसम्म घना बस्तीभन्दा पर तयारी गर्ने निर्णय भएका छ, त्यसको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले मिलाउने भनिएको छ,’ मन्त्री खतिवडाले भने । आवश्यक परेमा तत्कालै संरचना बनाउन सक्ने गरी सुरक्षाकर्मी परिचालन गर्ने बैठकको निष्कर्ष छ । 

पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । सङ्क्रमण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ । खतिवडाले भने, ‘कुनै समस्या आएमा तत्कालै स्कुल बन्द गर्न सक्ने गरी निर्णय लिएर जाने कुरा भएको छ, अहिले नै बन्द गर्ने निर्णय भने भएको छैन ।’ 

चिनियाँ र इटालीका पर्यटक विमानस्थलबाटै फकाईयो 

स्वास्थ्य प्रमाणपत्र नलिई आएका पाँच विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशबाट रोकेको छ । दुई इटाली, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार फकाईको छ । 

आठ देशका नागरिक र ती देश ट्रान्जिट भएर आउने अन्य देशका नागरिकले समेत नेपाल आउँदा आफुलाई कोरोना संक्रमण नभएको भनेर स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने नियम सरकारले लागू गरेको हो । मंगलबारदेखि यस्तो नियम लागू गरिएको हो । 

चीन, जापान, दक्षिण कोरिया कोरिया, इरान, इटाली, जर्मनी, फ्रान्सका नागरिकले अग्रिम रुपमा भिसा लिनुपर्ने र नेपाल आउँदा स्वास्थ्य प्रमाणपत्र बोक्नुपर्ने नियम छ । तर, प्रमाणपत्र नभएकालाई फिर्ता गरिएको विमानस्थलस्थित अध्यागमन प्रमुख सागर आचार्यले बताए । ती देश ट्रान्जिट भएर आउने अन्य विदेशीले पनि स्वास्थ्य प्रमाणपत्र नबोके नेपाल प्रवेश गर्न पाउने छैनन् । 

दैनिक चार हजार जान विदेशबाट आउँछन्  

अध्यागमनको तत्थ्याङकअनुसार दैनिक करिब चार हजार जना विभिन्न देशबाट आउने गरेका छन् । ‘विगतमा अन्तर्राष्ट्रिय यात्रुको संख्या करिब १४ हुन्थ्यो,’ अध्यागमन प्रमुख भन्छन्,‘अहिले करिब ६ हजार छन्, बाहिरिने भन्दा भित्रनेको संख्या धेरै छ ।’ विदेशबाट आउने सबैको ज्वरो नाप्ने र शंका लागेकालाई अस्पताल पुर्‍याउने गरिएको छ । 

गृह मन्त्रालयले भारतसँगको सीमामा समेत कडाई सुरु गरेको छ । भारतमा संक्रमण बढ्दै गएमा मुख्य सीमा नाका मात्र खुला गर्ने र सबैको चेकजाँच गर्ने गृहको तयारी छ । विदेशबाट आउने हरेक याुत्रको विमानस्थलमा ज्वरो नाप हुने गरेको छ । नेपालमा हाल कसैलाई पनि कोरोनाको संक्रमण नभएपनि विश्वमा फैलिएकाले नेपाललाई पनि उच्च जोखिममा राखिएको छ । 


नाका सहज, आयात–व्यापार खुलै
महिनामै १ खर्ब ८ अर्बको आयात, भन्सार विभाग भन्छ, ‘आयात प्रभावित भएको छैन’

कोरोना भाइरसले विश्व व्यापारलाई नै प्रभावित पारिरहेको छ । नेपालका पनि उत्तरी नाका बन्द अवस्थामा छन् । तर, नेपालको आयातमा भने स्पष्ट प्रभाव देखिएको छैन । आयात निरन्तर नै रहेको भन्सार विभागले जनाएको छ । आयात व्यापार नियमित र खुलै रहेको, तर निगरानी तथा जाँचपासमा भने कडाइ गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । 

पछिल्लो एक महिनामा नेपालमा १ खर्ब ८ अर्ब ९१ करोड रुपैयाँबराबरको आयात भएको विभागको तथ्यांक छ । यो नेपालको एक महिनामा हुने औसत आयातबराबर नै हो । माघ मसान्तसममा नेपालमा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँबराबरको आयात भएको हो । फागुनपछि पनि आयातमा कुनै कमी नदेखिएको विभागका महानिर्देशक दाहालले बताए । ‘आयात रोकिएको वा कडिकडाउ गरिएको भन्ने अफवाह छ,’ उनले भने, ‘भित्रिने वस्तु र मान्छेको चेकजाँचमा कडिकडाउ गरिएकै हो, तर आयात रोकिएको छैन, घटेको छैन ।’ 

‘सबै भन्सार कार्यालयमा स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्क रहेका छन् । भन्सार विभागले पनि हेल्थ डेस्क राखेको छ,’ उनले भने, ‘हामी नेपाल भित्रिने मानिस र मालवस्तुको चेकजाँच गरिरहेका छौँ, संक्रमण भित्रन रोक्ने, तर आयात नरोक्ने नीति हो ।’

भारतले संसारभरिका नागरिकलाई भिसा रोक्यो, जारी भिसा पनि स्थगित, नेपालीको आवागमन सुचारु

विश्वव्यापी बनेको कोरोनाबाट आफ्ना नागरिकमा निम्तिने स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै भारतले विदेशीलाई आगामी ३ वैशाखसम्मका लागि कुनै पनि भिसा नदिने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, रोजगार, परियोजनामा कार्यरत विदेशीबाहेकमा यो नियम लागू हुने भारतले जनाएको छ । भारतले नेपालीको भारत आवागमनसम्बन्धी विद्यमान व्यवस्थामा पनि बिहीबारको निर्णयले केही फरक नपार्ने स्पष्ट पारेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र अध्यागमन विभागले जारी गरेको ट्राभल एड्भाइजरीमा ३ वैशाखसम्म भारतमा विदेशी सर्वसाधारणलाई यात्रामा प्रतिबन्ध लगाएको खुलाइएको छ । ‘पछिल्लो समय विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड–१९ (कोरोना भाइरस)ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै विदेशी एवं भारतीय नागरिक भारत प्रवेश गर्दा र बाहिरिँदा अपनाउनुपर्ने केही स्वास्थ्य सुरक्षा उपाय लागू गरिएका हुन्,’ भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतीय तथा विदेशी नागरिकको यात्रा र आवतजावतमा न्यूनतम असुविधा कायम गरी सबैको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नु नै यो कदमको मूल्य अभिप्राय रहेको उनले बताएका छन् । समयक्रमसँगै प्रकोपको अवस्था हेरेर यी उपायको निरन्तर समीक्षा गरिने पनि जनाएका छन् । 

‘यी उपायले हाललाई हवाई तथा स्थलमार्गबाट भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर पर्नेछैन । अर्को शब्दमा नेपाली नागरिकका लागि रहिआएको विद्यमान यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव पार्नेछैन,’ दुबेले भने, ‘तर, सबै नाकामा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइनेछ ।’ भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोरोना भाइरसको लक्षण देखिए क्वारेन्टाइनमा राखिने जनाइएको छ । त्यस्तै, ३ फागुनपछि चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनी भ्रमण गरेका व्यक्तिलाई पनि क्वारेन्टाइनमा राख्ने भारतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रीहरूलाई विदेश नजान निर्देशनसमेत दिएका छन् । भारत सरकारले आफ्ना नागरिकलाई विदेश नजान पनि आह्वान गरेको छ । 

तपाईको प्रतिक्रिया