विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाउँछु : उपकुलपति

  फागुन २९, २०७६

सुर्खेत, फागुन २९ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का नवनियुक्त उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विश्वविद्यालय वीरेन्द्रनगर–६ कुइनेपानीस्थित केन्द्रीय कार्यालयमा आज पदभार ग्रहण गर्दै उहाँले विश्वविद्यालयका पदाधिकारी अख्तियारको ढोका धाउने प्रथाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“सरकारले दिएको पैसा दुरुपयोग गरी उपकुलपति, रजिष्ट्रार, डिन, प्रोफेसरहरु विगतमा अख्तियार जानुपर्ने अवस्था सिर्जना भयो”, उहाँले भन्नुभयो, “शिक्षामा भ्रष्टाचार भएको देश विकास हुन सक्दैन, विश्वविद्यालयबाटै हामीले सुशासनको शुरुआत गर्नुपर्छ ।”

उपकुलपति सिंहले तलब खाई हाजिर गर्ने र टाप कस्ने रोग प्राज्ञिक क्षेत्रमा पनि रहेको भन्दै कुनै पनि पदाधिकारी, प्राध्यापक, कर्मचारीले परिभाषित जिम्मेवारी बहन नगरेमा चुप लागेर नबस्ने चेतावनी दिनुभयो । स्वच्छ शैक्षिक वातावरण निर्माणमा अनुशासन महत्वपूर्ण भएकाले प्राध्यापक र विद्यार्थी अनुशासनमा बस्नुपर्ने बताउँदै उहाँले आफूले राजनीतिक आस्था र विचारका आधारमा कसैमाथि भेदभाव नगर्ने प्रष्ट पार्नुभयो ।

उपकुलपति सिंहले आफ्नो चारवर्षे कार्यकालमा विश्वविद्यालयलाई उदाहरणीय बनाएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “कर्णालीको अशिक्षा, रोग, भोक र गरिबीको अन्त्यका लागि विश्वविद्यालयले नेतृत्व गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समृद्ध कर्णालीको अभियानका अवरोधलाई प्राज्ञिक क्षेत्रकै एकताबाट परास्त गर्न सकिन्छ, हामीले नै यहाँको गरिबी हटाउन सरकारलाई मार्गदर्शन दिने हो ।”

उपकुलपति प्रा डा सिंहले आफूले तत्काल विश्वविद्यालयको विकासका लागि ‘भिजन पेपर’ सार्वजनिक गर्ने बताउनुभयो । कालिकोटको डिल्लीकोटमा जन्मनुभएका सिंहले माध्यमिक शिक्षा दैलेख सदरमुकामस्थित त्रिभुवन हाइस्कूलबाट तथा उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय र विद्यावारिधी जापानको टोकियो विश्वविद्यालयबाट गर्नुभएको छ ।

उपकुलपति छ महिनादेखि रिक्त रहँदा विश्वविद्यालयका नियमित प्रशासनिक कामकाज ठप्प थिए । उपकुलपति नियुक्तिसँगै अन्य पदाधिकारी नियुक्तिको बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया