युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध

  फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाउनु भएको छ ।

टेलिभिजन सम्बोधनमार्फत उहाँले उक्त घोषणा गर्नु भएको हाे । ब्रिटेनलाई भने यो नियम लागु हुने छैन । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने सेलुन र अति आवश्यकीयबाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै र्पुयाउन भने नरोकिने बताउनु भएको छ ।

टेलिभिजनमा सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने बताउनुु भएको छ । नयाँ सङ्क्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण इटालीमा ८२७ जनाले ज्यान गुमाएका छन्, भने १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनकाअनुसार इटलीमा करिब ९०० जना सङ्क्रमितहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएकाे छ ।

उहाँले हाल इरान र इटलीको जस्तो सङ्कट छिट्टै अन्य देशहरूले पनि सामना गर्नुपर्ने चेतावनी दिए । यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बनेको घोषणा गरेको थियो ।डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताउनु भएको छ ।

गत वर्षको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको कारण विश्वभरी ४ हजार ५०० को मृत्यु भइसकेको छ । यसबाट विश्वभरी १ लाख २४ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका जनाइएको छ ।

चीनपछि इरान र इटालीमा यस भाइरसको प्रभाव धेरै नै फैलिएपछि यसबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ह्वातै बढेको बताइएको छ ।

तपाईको प्रतिक्रिया