काभ्रेका होटल सुनसान, राहतको माग

  फागुन २९, २०७६

काभे्र, फागुन २९ : कोरोना भाइरसको प्रभाव काभे्रपलाञ्चोकका होटलमा पर्न थालेको छ । पर्यटकको मुख्य सिजनमै कोरोनाको कारण बाह्य तथा आन्तरिक पर्यटक आउन छाडेपछि यहाँका होटल सुनसान हुन थालेका छन् ।

बाह्य पर्यटकले बुक गरेका होटलका रुम धमाधम क्यान्सिल गर्न थालेको होटल व्यवसायीले बताएका छन् । चिसो हावा, पानी र नजिकैबाट हिमालको अवलोकन गर्नुसँगै उपत्यकाबाट नजिक रहेको काभे्रका होटल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेका थिए तर कोरोना भाइरसका कारण बिस्तारै होटल सुनसान हुन थालेका छन् ।

सङ्घ, प्रदेश सरकारका गोष्ठी, सेमिनार, बैठकलगायतका लागि पनि काभ्रेका होटल छनोट हुने गरेका थिए तर ती सबै कार्यक्रम स्थगन हुँदा काभ्रेका होटल झनै सङ्कटमा परेको व्यवसायीको भनाइ छ ।

क्षेत्रीय होटल एसोसिएसनका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका सञ्चालक पे्रमकण्ठ श्रेष्ठले कोरोनाको त्राससँगै पर्यटक आगमन घटेको बताउनुभयो । उहाँले भन्नुभयो, सभा, सम्मेलन, गोष्ठी हुन्थे, त्यसले पनि काभे्रका होटललाई ठूलो राहत हुन्थ्यो तर सबै कार्यक्रम स्थगन हुँदा होटल सुनसान हुँदै गएका छन् ।

उहाँले भूकम्पको भन्दा पनि बढी जोखिम कोरोनाका कारण भएकाले सरकारले होटल व्यवसायीलाई राहत व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । बैङ्कबाट करोडौँ रुपियाँ ऋण लिएर चलाएका छौँ, सरकारले राहत दिएन भने हाम्रो व्यवसाय धरापमा पर्छ, श्रेष्ठले भन्नुभयो ।

उहाँले काभ्रेका होटलमा अर्बौंको लगानी रहेकाले धेरै समय व्यवसाय सञ्चालन हुन सकेन भने होटल व्यवसाय नै धरापमा पर्ने चिन्ता व्यक्त गर्नुभयो । धुलिखेल, नगरकोट, नमोबुद्ध, बल्थली, दोलालघाट लगाएतका पर्यटकीय स्थलका होटल तथा रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा सुनसान देखिन थालेको उहाँको भनाइ छ ।

पर्यटनका लागि भदौदेखि चैतसम्मको समय सिजन मानिन्छ । यो समयमा मौसम पनि राम्रो हुने हुनाले नेपाल घुम्न आउने पर्यटक बढ्ने भए पनि कोरोनाले आन्तरिक तथा बाह्य पर्यटक नआइदिँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।

मिराबल रिसोर्टका सञ्चालक एवं क्षेत्रीय होटल एसोसिएसनका उपाध्यक्ष भोला थापाले वर्षैंपिच्छे भित्रिने रोग तथा प्रकोपका कारण होटल व्यवसाय धराशयी बन्दै गएको बताउनुभयो । द्वन्द्व, भूकम्प, नाकाबन्दी, डेङ्गु हुँदै अहिले कोरोना भाइरसका कारण होटल व्यवसाय धराशयी बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । अब केही होला नि त भन्ने सोचेका थियौँ तर यति नै बेला नै कोरोना देखियो, कसरी कर्मचारी पाल्ने भन्ने पो चिन्ता हुन थाल्यो ।

दैनिक तीनदेखि चार लाखको कारोबार गर्ने धुलिखेलका होटल पर्यटकको आगमन नभएपछि शून्य भएको उनीहरूको भनाइ छ । अधिकांश होटलले भएका कर्मचारीलाई समेत बिदा दिएका छन् । पर्यटकको आगमन कम भएसँगै धुलिखेलका होटल तथा रिसोर्टहरूमा कार्यरत पाँच सय जनाभन्दा बढी मजदुरको रोजगारी सङ्कटमा परेको मजदुर बताउँछन् । वर्षमा छ महिना मात्रै पर्यटक आउने भएकाले सिजनका रूपमा लिइने हालको अवस्था पर्यटकको आगमन शून्य भएपछि सञ्चालन गर्न धेरै समस्या भएको हो ।

होमस्टेमा पनि असर
कोरोना भाइरसका कारण होमस्टे क्षेत्रमा पनि असर सुरु गरेको छ । काभ्रेको पातलेखेल, पनौती, फूलबारी, भट्टेडाँडा, ढुङखर्कमा रहेका होमस्टेमा पर्यटक आउन छाडेको होमस्टे सञ्चालकले जनाएका छन् । सामुदायिक होमस्टे एसोसिएनका नेपालका अध्यक्ष केशव बडालले कोरोनाका कारण मुलुकभरका होमस्टेमा पर्यटक आउन छाडेको बताउनुभयो ।

पातलेखेत होमस्टे सञ्चालकसमेत रहनुभएका बडालले ताइवानबाट आउन लागेका तीनवटा ग्रुपले बुकिङ क्यान्सिल गरेको बताउनुभयो । उहाँका अनुसार अहिले आन्तरिक पर्यटकसमेत आउन छाडेका छन् । उहाँले समग्र पर्यटन क्षेत्रलाई नै यसले असर पारेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया