८३ वन क्षेत्र डढेला जोखिम : शून्य डढेलो अभियान शुरु

  फागुन २९, २०७६

लमही, फागुन २९ : डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरु भएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो अभियान सञ्चालन गरेको जनाएको छ ।

अभियानको शुरुआती चरणमा कार्यालयअन्तर्गतका कमिरेचौर, सुनपुर, घोराही, नाराणपुर, बिजौरी, तुलसीपुर, बिजौरी, दङ्गीशरण, पुरन्धारा र हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्साङ्कन कार्यक्रम सम्पन्न भएका छन् । ती कार्यक्रममा वन कर्मचारी, सामुदायिक वन समूह र सञ्जालका प्रमुख र लामो समयदेखि वन संरक्षणमा काम गर्दै वन हेरालुको सहभागिता रहेको थियो । ८३ वन समूह डढेलोको उच्च जोखिममा रहेका जनाइएको छ ।

जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । उच्च जोखिममा ८३ , मध्यम ४६ र ४४ वटा सामान्य रहेका डिभिजन वन कार्यालयका कार्यालय प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार ती वन समूहमध्ये ९२ वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका छन् । ८१ वन समूह निष्कृय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ ।

बङ्गलाचुली र दङ्गीशरणका गाउँपालिकाअन्तर्गतका वन क्षेत्र मध्यम जोखिम, तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन । लुकिछिपी धूमपान गरी फाल्नु यहाँ डढेलोको प्रमुख कारक रहेको जनाइएको छ ।

गलत सोचले समेत डढेलो लगाउने गरेको अध्ययनले देखाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन दीर्घकालीन र अल्पकालीन रणनीति तयार गरेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया