सैनिक अधिकृतले सार्वजनिक गरेनन् सम्पत्ति

  फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् । उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् ।

आफ्नो तीनवर्षे कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा गत भदौ २४ मा जंगी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सेनाको वेबसाइटमा सम्पूर्ण सम्पत्ति विवरण राखेको जानकारी दिएका थिए । ‘नेपाल सरकारको नीतिअनुसार तपाईं–हामीले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ र आवश्यक पर्दा भन्दाबाहेक त्यो गोप्य रहन्छ । बाध्यता छैन, स्व:स्फूर्त रूपमा राख्न चाहनुहुन्छ भने तपाईंहरूले आर्मी वेबसाइटमा आफ्नो सम्पत्ति विवरण राख्न सक्नुहुन्छ । मैले आजैका मितिमा अपलोड गरी मेरो सम्पत्ति विवरण सार्वजनिक गरेको छु,’ उनले भनेका थिए ।
चेन अफ कमान्डमा चल्ने संगठनमा कमान्डरले गरेको घोषणा र कामलाई पछ्याउनु मातहतका अधिकृतहरूको दायित्व हुन्छ तर हालसम्म बलाध्यक्ष रथी गौरव तण्डुल, उपरथीद्वय प्रभुराम शर्मा र आनन्द कार्की तथा सहायक रथीद्वय विज्ञानदेव पाण्डे र प्रेम शाहीले मात्रै सैनिक वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । रथी तण्डुल सेनामा तेस्रो वरीयतामा छन् । उपरथी शर्मा युद्धकार्य महानिर्देशनालयका महानिर्देशक हुन् भने अर्का उपरथी कार्की पूर्वी पृतनापति हुन् । यस्तै, सहायक रथी शाही विशेष फौज बाहिनीका हुन् भने पाण्डे जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक हुन् ।
दोस्रो वरीयताका बलाधिकृत रथी शरद गिरीले हालसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । करिब करिब ९६ हजारको दरबन्दी रहेको सेनामा दुई रथी, करिब २० उपरथी र ७० भन्दा बढी सहायक रथी छन् ।पूर्वसहायक रथी तथा सैन्य मामिलाका जानकार केशरबहादुर विष्ट संगठनकै कमान्डरले सम्पत्ति विवरण सार्वजनिक गरेपछि मातहतका सबैलाई आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न दबाब पर्ने बताउँछन् । ‘तर बाध्यकारी व्यवस्था नभएकाले अरूले सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन सक्छन्,’ उनले भने । सेनापति थापाले वेबसाइटमा राखेको विवरणमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०५८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि सम्पत्ति विवरण फारम । सार्वजनिक पद धारण गरेको व्यक्तिको नाम/थर : पूर्णचन्द्र थापा… ।’
अर्का अवकाश प्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातका अनुसार सैन्य अधिकृतहरूको सम्पत्ति विवरण नेपाल सरकारले पहिले पनि माग्ने गरेको थियो तर माथिल्लो तहबाटै विवरण सार्वजनिक भएको पहिलो पटक हो ।
‘प्रधानसेनापतिले सम्पत्ति विवरण सार्वजनिक गरेपछि अरूले पनि पछ्याउनुपर्छ जस्तो लाग्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले गरेपछि अरू मन्त्रीले नगर्न पाइन्छ त ?’ पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले सबै सैन्य अधिकृतहरूबाट आआफ्नो सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने टिप्पणी गरे । सेनाभित्र अनियमितता र भ्रष्टाचार भएको भन्ने उजुरी संसदीय समितिमा पनि परेको पृष्ठभुमिमा सैन्य अधिकृतहरूको आर्थिक जीवनप्रति चासो प्रकट हुन थालेको हो । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति थापासँग यसबीच परेका उजूरीमा केन्द्रित रही छलफल गर्ने तयारी गरेको छ ।
प्रधानसेनापति थापाले छ महिनाअघिको उक्त कार्यक्रममा यसै वर्षबाट रथी तथा अधिकृतहरूको सम्पत्ति विवरणको दुरुस्त अभिलेख राख्ने र आवश्यकताअनुसार अनुगमन गर्ने विशेष व्यवस्था गर्न लागिएको बताएका थिए । त्यसले समग्र सैन्य संस्थाको छविमा सकारात्मक सन्देश दिएपनि संगठन प्रमुखले थालेको अभ्यासलाई अन्य अधिकृतले निरन्तरता नदिएका कारण सेनापतिको कदम उनीमै सीमित रहनेजस्तो देखिन्छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले संगठनका सबै अधिकृतलाई सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्यकारी नभएको बताए । संगठन प्रमुखले गरेको काम अरूले नगर्दा नैतिक दबाब पर्छ वा पर्दैन भन्ने प्रश्नको जवाफमा उनले अहिले सेनामा सम्पत्ति विवरणसम्बन्धी एउटा निर्देशिका जारी भएको बताए । ‘निर्देशिकामा आर्मीका जर्नेलसम्मको सम्पत्ति विवरणचाहिँ प्रधानसेनापतिको कार्यालयमा राख्ने भन्ने छ,’ उनले भने, ‘त्यसपछि धेरै बजेट चलाउनुपर्ने खालका विशेष कार्यालयका अधिकृत र सम्पूर्ण कर्मचारीले हरेक वर्ष सम्पत्ति विवरण आआफ्नो सम्बन्धित विभागमा पेस गर्नुपर्छ । कहीं, कतै तलमाथि देखिए, उनीहरूमाथि अनुसन्धान वा छानबिन हुन्छ ।’
पाण्डेले पहिला सरकारी नियमअनुसार सम्पत्ति विवरण जम्मा गरेर राख्ने कार्यलाई निरन्तरता दिइएको जनाउँदै त्यसबाहेक जस जसलाई मन लाग्छ, उसले सार्वजनिक गर्न सक्ने बताए । तर बहुसंख्यक अधिकृतले आफ्नो सम्पत्ति विवरणको अभिलेख राख्न मन दिएका छैनन् 

तपाईको प्रतिक्रिया