‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’

  फागुन २८, २०७६

काठमाडौँ, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताउनुभएको छ । यहाँ आज आयोजित राष्ट्रिय प्रजातन्त्र पार्र्टी र राष्ट्रिय प्रजातन्त्र पार्र्टी (संयुक्त) को एकता घोषणा सभामा उहाँले देशभरका कार्यकर्ताले एक हुन आह्वान गरेका कारण पार्टी एक भएको उल्लेख गर्नुभयो ।

जनताले कम्युनिष्ट र काँग्रेसको विकल्प खोजेको छ भन्दै अध्यक्ष राणाले दुवै पार्टीले गर्न नसकेका काम राप्रपाले गरेर देखाउने बताउनुभयो । “राप्रपा एक हुनुपर्छ भन्ने आग्रह, सुझाव र माग थियो”, उहाँले भन्नुभयो, “जनताको माग सम्बोधन गर्न हामी एक हुन बाध्य भयौँ ।”

पार्टी एक भएर मात्र नपुग्ने र यसका लागि जनताको भावनालाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । सम्पूर्ण प्रजातन्त्रवादी शक्तिलाई एक भएर अघि बढ्न अध्यक्ष राणाले आग्रह गर्नुभयो । “चानचुने उद्देश्यले एक भएका होइनौँ, मुलुकमा ठूलो फेरबदल ल्याउन एकता गरेका हौँ”, उहाँले भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सानोतिनो झगडा र भागबण्डामा अल्झेको र भूमिकाविहीन अवस्थामा रहेको अध्यक्ष राणाले आरोप लगाउनुभयो ।

राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कार्यकर्ताको प्रेरणाका कारण पार्टी एकता भएको बताउनुभयो । “संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हाम्रो मूल मन्त्र हो”, उहाँले भन्नुभयो, “पाँच हजार वर्ष पुरानो सभ्यता रहेकाले त्यसको जगेर्ना गर्नुपर्छ ।” विश्वभरिका हिन्दूको आस्थाको केन्द्र नेपाललाई बनाउनसके मुलुक आर्थिकरूपमा बलियो हुने उहाँको भनाइ थियो । प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेकामा उहाँले काँग्रेसको आलोचना गर्नुभयो ।

अर्का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र काँग्रेसपछिको तेस्रो शक्तिका रूपमा राप्रपाको एकीकरण भएको उल्लेख गर्नुभयो । “एकताबाट देशले बलियो राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति प्राप्त गरेको छ, जनताले विकल्प खोजेकाले एक हुनुप¥यो”, उहाँले भन्नुभयो । विसं २००७ यता वामपन्थी र काँग्रेस हावी हुँदै आएको र अब उक्त स्थान राप्रपाले लिने उहाँको भनाइ थियो । कार्यकर्ताको व्यापक दबाबपछि अध्यक्षत्रय राणा, लोहनी र थापाले हातमा गीता लिएर ‘अब कहिल्यै पार्टी फुटाउँदैनौँ’ भनेर शपथ खानुभएको थियो ।”

पार्टी एकता घोषणासभामा पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफ्नो वर्षौंदेखिको चाहना पार्टी एकता भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । मुलुकको अवस्था सन्तोषजनक नभएको उहाँको भनाइ थियो । मुलुक बलियो बनाउने उद्देश्यका साथ पार्टी हाँक्न उहाँले नेतृत्व पङ्क्तिलाई सुझावसमेत दिनुभयो । काँगेसको भूमिका नदेखिएकाले जनताले त्यसको विकल्पमा राप्रपालाई हेरेको आफूले पाएको पूर्वप्रधानमन्त्री चन्दको भनाइ थियो ।

कार्यक्रममा नेता दीपक बोहरा, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, रीना गुरुङलगायतले सम्बोधन गर्नुभएको थियो । राप्रपा एकता घोषणासभामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं राप्रपा संयुक्तका नेता सुनीलबहादुर थापाको भने उपस्थिति थिएन ।

तपाईको प्रतिक्रिया