पारमाणविक विधेयक पारित

  फागुन २८, २०७६

काठमाडौँ, फागुन २८ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ ।

समितिको आजको बैठकले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको उक्त विधेयक समितिले दफाबार छलफलपछि पारित गरेको हो । समितिका सभापति परशुराम मेघी गुरुङले प्राविधिक विषय भएको हुनाले समितिमा गहन छलफल गरेर पारित गरेको जानकारी दिँदै बिहीबार सदनमा पेश गर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि समितिमा भएको सहमतिमा मन्त्रालय सहमत रहेको र यससम्बन्धी कानून भएका कारणले धेरै काम रोकिएकाले अब सहज हुने बताउनुभयो । मन्त्री पोखरेलले पारमाणविक विधेयक संवेदनशील भएको र यसलाई नियमन गर्न विज्ञता, विश्वविद्यालय, अन्तरमन्त्रालय र सुरक्षाको दृष्टिकोणले प्राधिकरण नै आवश्यक भए पनि आर्थिकभार कम गर्ने गरी मन्त्रालयको विभाग तहको संस्थागत संरचना रहने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

विधेयकमा पारमाणविक वा रेडियोधर्मी पदार्थ र संयन्त्रसम्बन्धी क्रियाकलाप वा अभ्यास सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने, त्यसको नियमन र इजाजतपत्रमा भएका शर्तविपरीत काम गरेमा सजाय हुनेलगायतका व्यवस्था समेटिएको छ ।

तपाईको प्रतिक्रिया