पिपलाडी स्वास्थ्यचौकीमा १५ श्ययाको अस्पताल निर्माण गर्ने

  फागुन २८, २०७६

कञ्चनपुर, फागुन २८  : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल निर्माण गर्ने भएको छ ।

अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक स्थानीय तह एक अस्पताल’ बनाउने योजनाअनुसार स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि सम्भाव्यता अध्ययनको कार्य पूरा भएको छ ।

अस्पताल निर्माणका लागि कन्सलटेन्सीमार्फत विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्यलाई अगाडि बढाएको नगरपालिका–४ का अध्यक्ष ज्ञानबहादुर विष्टले बताए । तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वास्थ्यचौकीमा रहेका भवनको स्तरोन्नति गरी सेवा सञ्चालनका लागि ३८ लाख बजेट परिचालन गरेको छ । प्रदेश मन्त्रालयबाट प्राप्त बजेट परिचालन गरी स्वास्थ्यचौकीका पुरानो भवन स्तरोन्नति गर्न ठेक्का प्रक्रियामार्फत निर्माणको कार्य अगाडि बढाइएको वडा अध्यक्ष विष्टको भनाइ छ ।

संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा २५ लाखको लागतमा चौबिस घण्टे बर्थिङ सेन्टर भवन निर्माणका लागिसमेत कार्य अगाडि बढाइएको छ । बर्थिङ सेन्टर निर्माणका लागि लाग्ने कूल लागतको २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले बताए ।

स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएपछि सर्वसाधारणले विशषज्ञसहितको चिकित्सकीय सेवा पाउने भएका छन् । पिपलाडीसहित कञ्चनपुरका कृष्णपुर र बेदकोटको दैजी स्वास्थ्यचौकीको समेत स्तरोन्नति गरी अस्पताल बनाउन कार्य अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया