खरिद ऐन छलेर बगर ठेक्का

  फागुन २८, २०७६

म्याग्दी, फागुन २८  : म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ ।

बेनी नगरपालिका–६ डम्मरा र ३ नम्बर वडाको दूधेखोलास्थित म्याग्दी नदी किनारको बगरबाट ढुंगा र बालुवा उत्खनन गर्न माघ २२ गतेको नगर कार्यपालिकाको बैठकले स्थानीयवासीलाई ठेक्कामा दिने निर्णय गरेको थियो ।

डम्मराको बगरबाट प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (आइइई)मा उल्लेख भएको परिणामको ढुंगा, बालुवा उत्खनन र बिक्री गर्न प्रदेश सरकारले तोकेको दररेटअनुसार एकमुष्ट पाँच लाखमा तेजबहादुर खत्रीलाई ठेक्कामा दिने निर्णयमा उल्लेख छ ।

खरिद ऐनलाई छलेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा न्यूनतम मूल्यमा प्रतिस्पर्धा बिना नै ठेक्कामा लगाएकामा निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले आपत्ति जनाए । गत वर्ष डम्मरा, अग्नीखेत र चुत्रेनीको बगर टाकुरा विकास विल्डर्सलाई १५ लाख ५० हजारमा ठेक्कामा लगाएको थियो ।

गत मंसिरमा डम्मराबाहेकका ठाउँका बगर उत्खननका लागि ठेक्का आह्वान गरेको थियो । ५३ हजार न्यूनतम मूल्य कायम भएको दूधखोलाको बगर उत्खनन गर्न ठेक्का परेको थिएनन् । अन्य ठाउँको बगर प्रतिस्पर्धाको प्रक्रियामार्फत ठेक्कामा लगाएको छ ।

डम्मराको लिफ्ट खानेपानी आयोजनाको मुहान सुकेको र बस्ती जोखिममा परेको भन्दै बगर उत्खनन गर्न रोक लगाउन माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा स्थानीयवासी जीवन श्रेष्ठले २०७६ साउन ७ गते मुद्दा दर्ता गर्नुभएको थियो । नगरपालिका, जिल्ला समन्वय समिति, प्रशासन र बेनी नगरपालिकाको वडा नं ६ को कार्यालयलाई विपक्ष बनाएर दायर गरिएको सो मुद्दाको माग दाबी नपुग्ने ठहर गर्दै अदालतले पुस २२ गते खारेज गरेको थियो ।

अदालतको आदेशपछि सम्बन्धित वडाबाट आएको प्रस्तावअनुसार उत्खनन गर्न दिने निर्णय भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । अन्य बगरको ठेक्का प्रक्रियामा व्यवसायीले मिलेमतो गरेर प्रतिस्पर्धा हुन नसकेको र छोटो अवधि भएकाले कार्यपालिकामा प्रस्ताव लगेर ठेक्कामा दिने निर्णय गराएको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए ।

तपाईको प्रतिक्रिया