बुमर सञ्चालनको एक वर्षः अपेक्षा अनुरुप देखिएन सडक सफा

  फागुन २८, २०७६

काठमाडाैं, फागुन २८ : सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ ।

पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको छ । कामपाले बु्रमर सञ्चालन गरेको एक वर्ष हुँदासम्म महानगरको सडकमा धुलो कम भएको छैन । बाहिरी ठूला सडकमा केही कम भए पनि भित्री सडकमा एकपटक पनि उक्त यन्त्र पुगेको छैन ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाहिरी सडकमा सहजरूपमा ब्रुमर सञ्चालन गर्ने अवस्था रहेको भए पनि भित्री सडकमा अझै पनि सहजरूपमा सञ्चालनको अवस्था छैन । जसले गर्दा यातायातको साधनमार्फत भित्री सडकको धुलो ठूला सडकमा आउँछन् र फोहर देखिन्छन् ।

सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ । महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका उक्त यन्त्र प्रयोगमा ल्याइएका हुन् । बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा सडक निर्धारण गरेको छ । सोही रुटअनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको गोरखापत्र अनलाइनले जनाएको छ ।

महानगर क्षेत्रमा पर्ने सबै खाल्डाखुलडी पुर्ने काम कामपाको नभएको जनाइएको छ । आठ मिटर कम चौडाका सडक मात्र कामपाको अधिकारभित्र पर्दछ, बाँकी अन्य सडक विभाग मातहतमा पर्दछ । पछिल्लो समय सडक विभागले ठूला सडकको खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । सडकको मुख्य स्थान न्यूरोड, रत्नपार्क, जमल, कालिमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी विभागले पुरिरहेको छ ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुनधारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।

स्थानीयवासीको गुनासो

कामपाका नागरिकले भने बु्रमर प्रयोगमा आए पनि सडक सफा नभएको भन्दै गुनासो गरेका छन् । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार बु्रमर सञ्चालनमा आएको एक वर्ष हुँदासम्म शहरमा अपेक्षाअनुरुप धुलो कम हुनसकेको छैन । समस्याजस्ताको तस्तै छ । “यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर बु्रमर खरिद गर्नुको कुनै अर्थ छैन”, कडेँलले भन्नुभयो ।

भित्री सडकमा ब्रुमर पुगेन

भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहँुदा काठमाडौँ महानगरपालिका (कामपा)लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात बु्रमर सञ्चालन गर्दै आएको छ । त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ ।

मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा सकारात्मक सुधार आएको छ । सरकारले उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौँ उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ । यद्यपि भित्री र शाखा सडकमा समस्या यथावत छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसमेत राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति क्रमशः भएको पाइन्छ । तर साना सडकको मर्मतसम्भारका लागि सम्बन्धित निकायले त्यति ध्यान नदिँदा ठूला सडकमा पनि त्यसको असर परेको कामपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया