हुलाकी राजमार्गको ४८ प्रतिशत निर्माण सम्पन्न

  फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको छ । आयोजनामा नेपाली कम्पनी मात्रै कार्यरत रहेकाले नियमितरुपमा काम अघि बढेको आयोजनाले जनाएको छ ।

अहिलेसम्म झण्डै ४८ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनामा बाँकी निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा सडक र पुल गरी १३५ ठेक्का सम्झौता भएका छन् ।

ती ठेक्का र गत वर्षमा भएका ठेक्कामा अहिलेसम्म असर पुगेको जानकारी नआएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनामा केही भारतीय कामदार बाहेक नेपाली कम्पनी र नेपाली कामदार भएकाले पनि अहिलेसम्म असर नपुगेको पाइन्छ ।”

राजमार्गमा हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । राजमार्गको लम्बाइ ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डास्मित (ग्राभेल) तथा ९२ पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आवमा अहिलेसम्म ९७ किमी कालोपत्र, ४२ किमी खण्डास्मित र पाँच पुल सम्पन्न भएको छ । बाँकी निर्माणका लागि ठेक्का सम्झौता भइरहेको आयोजना प्रमुख बिसुरालले जानकारी दिनुभयो ।

तराईका धेरै जिल्लामा आयोजनाअन्तर्गतका सडक प्रयोगमा आइसकेका छन् । तराईका भित्री बस्ती जोड्ने यो आयोजनाअन्तर्गत अधिकांश स्थानमा नयाँ साधारण मार्ग खोल्नेभन्दा भइरहेकै राजमार्गका रूपमा स्तरोन्नतिको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया