२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने

  फागुन २८, २०७६

भक्तपुर, फागुन २७ : सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको भक्तपुरमा आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लाका ८८ प्रतिशत बालबालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताउनुभयो ।

बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पुरा गर्नेलाई पूर्ण खोप लगाउनेको सङ्ख्यामा राख्ने गरिन्छ । यो अभियानअन्तर्गत दादुर–रुबेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने भएको छ ।

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १९८ खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा दुईका दरले स्वयंसेविका परिचालन हुनेछन् । यसका लागि ३९६ स्वयंसेवक र ७१ खोप कार्यकर्ता परिचालन हुनेछन् । खोप अभियानमा पाँच हजार ४७१ भाइल खोप र सोही अनुपातमा घोलक र ३६ हजार २८० सिरिञ्जको प्रयोग हुनेछ ।

खोप अभियानमा खटिनेका लागि आवश्यक तालीम प्रदान गरेको, इँटाभट्टा, श्रमिक क्षेत्र र सुकुम्वासी क्षेत्रमा पनि अभियान सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले जानकारी दिनुभयो । खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यबस्था समेत गरिएको जानकारी दिदैं उहाँले खोपबाट कुनै प्रकारका प्रतिकूल असर नपर्ने बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार सरकारले पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं १, २ र पाँचका ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ भने दोस्रो चरणमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।

सरकारकाले पहिलो र दोस्रो चरणको खोप अभियानमा ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ । दादुरा र रुबेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । त्यसपछि हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुबेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।

सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुबेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँचभभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । सोअन्तर्गत नेपाल सरकारको १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड खर्च गर्ने भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया