सुनकोशीमा सामुदायिक घरबास सञ्चालन हुँदै

  फागुन २८, २०७६

मेलम्ची, २७ फागुन : घरबास प्रवद्र्धन गर्ने उद्देश्यले सुनकोशी गाउँपालिका–३ कालिकामा सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा घरबास सञ्चालनका लागि सामुदायिक भवन निर्माण शुरु भएपछि कालिकामा खुशियाली छाएको छ ।

एक कार्यक्रमबीच प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति सुरेश नेपालले कालिकास्थित उखुबारी सामुदायिक घरबासका लागि भवन शिलान्यास गर्नुभएको छ । सुनकोशी किनारको सुकुटे क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेका बेला कालिकामा घरबास सञ्चालनको तयारी गरिएको हो ।

पर्यटन विकासकै आधारबाट समृद्ध कालिका निर्माणका लागि घरबासको अवधारणा अघि सारिएको स्थानीय अगुवा एवम् उखुबारी सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम प्याकुरेलले बताउनुभयो । घरबासका लागि सामुदायिक भवन शिलान्यास गर्दै नेपालले पर्यटनलाई जनताका जीवनसँग जोड्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । “माझी संस्कृति र मगर संस्कृति उखुबारी घरबासका लागि महत्वपूर्ण छ, पर्यटकलाई सत्कार गर्दै यहाँको संस्कार देखाउन पर्छ”, उहाँले भन्नुभयो ।

स्थानीय उत्पादनमा जोड दिँदै प्रकृति तथा पर्यावरण संरक्षण गर्दै उखुबारी सामुदायिक घरबास सञ्चालन गरिने पर्यटन व्यवसायी पुष्पराज पराजुलीले बताउनुभयो । व्यवस्थित र नमूना घरबासका लागि वडा तहबाट आवश्यक नीति योजनाका साथ अघि बढ्ने वडाध्यक्ष रामहरि खड्काले बताउनुभयो । वाग्मती प्रदेश सरकारले यस वर्ष उखुबारी सामुदायिक घरबासका लागि भवन निर्माणको शीर्षकमा रु १५ लाख रकम विनियोजन गरेको थियो । सामुदायिक घरबासका लागि दिव्यदृष्टि कन्सल्टेन्सी प्रालिले गुरुयोजना तयार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया