रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन : वकिल

  फागुन २६, २०७६

आसुनसिओन, फागुन २६ : ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ ।

क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारी समक्ष आग्रह पनि गर्नुभएको छ । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उहाँका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीले बताएका छन् ।

उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । वकील क्वीरोजले भन्नुभयो, “रोनाल्डिन्होले कुनै अपराध गर्नुभएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।”

पाराग्वेका अधिकारीले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उहाँप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।

रोनाल्डिन्हो र उहाँका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुग्नु भएको थियो । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उहाँका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए ।

तपाईको प्रतिक्रिया