कृषिसम्बन्धी बजेटमा समन्वय गर्दै संघ र प्रदेश सरकार

  फागुन २६, २०७६

काठमाडौँ, फागुन २५ : कृषि तथा पशुपक्षी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कषिसम्बन्धी बजेट तर्जुमाका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग पूर्व बजेट समन्वय बैठक आयोजना गरेको छ ।

मन्त्रालयले सातै प्रदेश सरकारसँग एकीकृत योजना तर्जुमा गरी नीति तथा कार्यक्रम र बजेट बनाउन पहिलो पटक यस प्रकारको बैठक आयोजना गरेको हो । सङ्घीय र प्रदेश सरकारले बनाउने योजनाबीच समन्वय नहुँदा समस्या आएकाले अबदेखि एकीकृत समन्वय गरेर योजना तय गर्न लागिएको मन्त्रालयका उपसचिव गङ्गादत्त आचार्यले बताउनुभयो । उहाँका अनुसार नीति तथा कार्यक्रममा एकरुपता ल्याउन आइतबारदेखि प्रि–बजेट समन्वय बैठक राखिएको छ ।

बैठकमा सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सचिवलाई बोलाइएको छ । प्रदेशका विभागीयमन्त्री र सचिवले प्रदेश सरकारको योजना प्रस्तुत गर्नेछन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ल्याउने बजेटबारेमा समेत प्रदेश सरकारलाई जानकारी गराइने उपसचिव आचार्यले बताउनुभयो । समन्वय बैठक दुई दिनसम्म चल्नेछ । मुलुक सङ्घीयतामा गएपछि सङ्घीय र प्रदेश सरकारको प्राथमिकता तथा योजनामा तालमेल हुन नसकेकाले समन्वय गरी कृषिका कार्यक्रम तय गर्न सङ्घीय मन्त्रालयले यस प्रकारको पहल लिएको हो ।

तपाईको प्रतिक्रिया