आलु उत्पादन बढेपछि महिला हौसिए

  फागुन २६, २०७६

रामपुर, फागुन २६ : यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरू समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर विगत तीन वर्षयता सो खेती गर्दै आएका छन् ।

यो वर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेपछि व्यवसायमा हौसला मिलेको नदी किनार आयआर्जन महिला कृषक समूहका अध्यक्ष भगवती देवकोटाले बताए । समूहले यस वर्ष करिब नौ रोपनी जग्गामा आलु लगाएको हो । वडा कार्यालयको सहयोगमा लगाइएको पाँच क्विन्टल आलुबाट ४० क्विन्टल आलु उत्पादन भएको समूहका सचिव सीता देवकोटा जानकारी दिए । ‘यसवर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेको छ, आलु बिक्रीबाटै समूहले एक लाख बराबरको आम्दानी गरेको छ’, उनले भने । खेतबाटै आलु बिक्री हँुदा अन्यत्र बेच्न जानुपर्ने झन्झट नभएको उनको भनाइ छ ।

कृषि शाखा कार्यालयबाट आलु लगाउने प्रविधिसम्बन्धी सेवा प्रदान गरेको थियो । कृषकले बेलाबेलामा प्राविधिकसँग परामर्श लिने गरेकाले उत्पादन राम्रो भएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । ‘कृषकले उत्पादन बढाउन प्राविधिकसँग सोधपुछ गर्ने, खेतबारीमा बाली अवलोकन गर्न बोलाउने र सामान्य समस्या परेमा प्राविधिकलाई खबर गरेका कारण पनि उत्पादनमा वृद्धि आएको छ’, उनले भने ।

रामपुर नगरपालिका–६ को कार्यालयले यस वर्ष सोखेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा १५० रोपनी क्षेत्रफलमा करिब ६० क्विन्टल जनकदेव जातको आलुको बीउ अनुदानमा वितरण गरेको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । ‘आलुखेतीबाट रामपुरलाई आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ६ लाई पकेट क्षेत्र निर्धारण गरी आलु उत्पादनलाई जोड दिएका हौँ’, उनले भने । कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा शीतभण्डारण गर्ने व्यवस्था पनि वडा कार्यालयबाट मिलाइएको जनाएको छ ।

तालपोखरा कृषक समूहले तीन क्विन्टल आलुबाट ६० हजारको आम्दानी गर्न सफल भएको समूहका अध्यक्ष मित्रा ढकाल बताउनुहुन्छ । ‘समूहका छ महिला मिलेर आलु लगाएका हौँ, घरायसी प्रयोजनका लागि राखेर खर्च कटाएर ६० हजारको आलुबाट आम्दानी लिइयो, आलुखेतीमा आबद्ध छ जनाले १०÷१० हजार लिइयो’, उनले भने ।

पाँच रोपनीमा साढे तीन क्विन्टल बीउ लगाएको कँडेलबारी कृषक समूहले करिब ३० क्विन्टल आलु बिक्री गरी ८० हजार बराबरको आम्दानी लिएको सदस्य हुमा देवकोटाले बताए । सामूहिक आलुखेतीले महिलालाई आयआर्जनतर्फ आकर्षित बनाएको छ । साढे दुई रोपनी क्षेत्रफलमा साढे एक क्विन्टल आलु लगाएको कालीआँप कृषक समूहले करिब २२ हजार बराबरको आलु बिक्री गर्न सफल भएको अध्यक्ष दुर्गा पौडेल बताउनुहुन्छ । यहाँ लगाइएको आलु प्रतिकिलो ३० देखि ३५ सम्ममा खेतबाटै धमाधम बिक्री भइरहेको छ । व्यापारी तथा ग्राहक खेतमै पुगेर आलु खरिद गर्न थालेपछि आलुखेतीमा कृषकको आकर्षण बढेको छ ।

बिक्रीका लागि बजार धाउन नपरेपछि अर्को वर्ष आलुखेतीलाई बढाउने महिला बताउँछन् । रामपुर नगरपालिकाका सबैजसो क्षेत्र आलुका लागि राम्रो छ । आलु बिक्रीका लागि बजार सहज, झट्ट नकुहिने, मूल्य राम्रै पाएपछि समूहमा कृषकले आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका क्षेत्रमा करिब दर्जन बढी समूहले सामूहिकरूपमा आलु लगाउँदै आएका छन् । नगरको एक वडा एक उत्पादन कार्यक्रमले बाहिरबाट रामपुर बजारमा भित्रने आलुलाई कम गर्न आलु उत्पादनमा जोड दिइएको हो ।

तपाईको प्रतिक्रिया