सुक्खा बन्दरगाह निर्माण तीव्र

  फागुन २६, २०७६

रसुवा, फागुन २५ : नेपालको उत्तरी रसुवागढी नाका केन्द्रित गरी टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण तीव्ररूपमा अगाडि बढिरहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार नेपाल इन्टरमोडल डेभलमेन्टको रेखदेख र चीन सरकारको सहयोगबाट टिमुरेस्थित भोटेकोशीको तटीय क्षेत्रमा निर्माण अगाडि बढेको सुक्खा बन्दरगाहका लागि अधिकांश बगरको सतह मिलाउने काम सम्पन्न भइसकेको छ ।

निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनीले पहिलो चरणमा सुक्खा बन्दरगाहको क्षेत्रको नदी नियन्त्रणका लागि भोटेकोशीमा मेशिनरी पर्खाल लगाउने तयारीमा जुटिसकेको बताइएको छ ।

तीन सय पचास ट्रक तथा कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माणका लागि गत मंसिर ४ गतेबाट शुरू भएको काम छोटो अवधिमै उल्लेखनीय प्रगति पथमा अगाडि लम्किएको टिमुरेका बासिन्दाले बताएका छन् । भन्सारको कार्य सहज पार्न निर्माण हुन लागेको सुक्खा बन्दरगाहको काम गर्ने चिनियाँ ठेकेदार कम्पनी र रेखदेख गर्ने नेपाल इन्टरमोडलका प्राविधिकले जिम्मा पाए पनि नेपाली प्राविधिक अधिकांश समय काठमाडौँमा बस्ने गरेको जनगुनासो बढ्दै गएको छ ।

नेपाली प्राविधिक राजधानी बस्ने र स्थलगतरूपमा निर्माता ठेकेदार कम्पनीका कर्मचारी मात्र रहँदा डिजाइन विपरीत जान्छ कि भन्ने चिन्ता छाएका कारण ती प्राविधिकलाई नियमितरूपमा टिमुरे बस्ने वातावरण सिर्जना गरिदिनसमेत सम्बन्धित मन्त्रालयसँग टिमुरेवासीले आग्रह गरेको बताएका छन् ।

टिमुरे गाउँको पश्चिमतर्फ खोला किनारको जमीन सुक्खा बन्दरगाहका लागि नेपाल सरकारद्वारा आफ्नो नाउँमा भूमिको स्वामित्व कायम गराई सके पनि त्यसभित्र रहेका १३ वटा घर टहराको अझै मूल्यांकन हुन नसक्दा स्थानीय नागरिकलाई ठूलो मर्का परेको गोसाइँकुण्ड गाउँपालिका–२ कार्यालयले जनाएको छ ।

स्थानीवासीसँग समन्वय गरी अधिग्रहणमा परेका ती घरटहराको मूल्यांकनबाट स्थानीयवासीलाई मुआब्जा दिलाउन सहयोगी कार्य गर्नुपर्ने नेपाल इन्टर मोडेलमार्फत खटिएका प्राविधिकले बेवास्ता गरिरहेको समेत स्थानीयको गुनासो बढेको छ । यसैगरी रसुवागढीमा निर्माण हुन लागेको एकीकृत भन्सार कार्यालयको निर्माण सन्तोषजनक तवरले अगाडि बढिरहेको भन्सार कार्यालयले जनाएको छ ।

सुरुङ निर्माण पूरा हुँदै

उत्तरी रसुवामा निर्माणाधीन तल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहमा पानी ल्याउने मुख्य सुरुङको निर्माण लगभग पूरा भएको छ । सान्जेन जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार निर्माण गर्नुपर्ने तीन हजार ६५० हेडरेस सुरुङमध्ये प्रायः कार्य पूरा भई अब निर्माणको काम ४० मिटर मात्र बाँकी रहेको छ ।

बयालीस दशमलव पाँच मेगावाट क्षेमताको उक्त जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माणको काम भने लगभग पूरा भएको बताइएको छ । सुरुङबाट ल्याइएको पानी तीव्र प्रवाहमा विद्युत्गृहमा पठाउनका लागि आवश्यक पर्ने एक हजार मिटर लम्बाइको पेनस्टक पाइप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडि बढिरहेको आयोजनाका प्राविधिकले बताएका छन् ।

यसैगरी माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाटको जलविद्युत् आयोजना भने निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३०० मिटरको हेडरेस सुरुङ र विद्युत्गृह समेतका संरचना निर्माणको काम पूरा भए पनि कोरोना भाइरसको असरले उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयोे ।

दुवै आयोजनाको पानी ल्याउने संरचना भूमिगतको भए पनि विद्युत् उत्पादन गर्ने गृह भने बाहिरी सतहमा हुने आयोजनाले जनाएको छ । आगामी असार महिनासम्म उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन विद्युत् आयोजनालाई पनि चीनमा फैलिएको कोरोना भाइरसले चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादन ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पूरा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया