भारतीय यस बैंकका संस्थापक राना पक्राउ

  फागुन २५, २०७६

मुम्बई, फागुन २५ : भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

भारतको केन्द्रीय बैंकले आकस्मिकरुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो ।

भारतको वित्तीय अपराधसम्बन्धी जाँच एजेन्सीका अधिकारीले आइतबार बिहान ०३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बइस्थित निवासबाट पक्राउ गरेका थिए ।

जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो । यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ । अधिकारीले मुम्बइस्थित रानाको भव्य महलमा छापा मारेको थियो ।

भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकमा निराशा छाएको छ । मानिस यस बैंकका एटिएम र शाखामा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए ।

रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त “यस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न दुई अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबिआइका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिनुभयो ।

यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाइ छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८०० भन्दा बढी एटिएम छन् ।

तपाईको प्रतिक्रिया