राप्रपाबीच एकीकरण, घोषणासभा बुधबार

  फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।

एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार राति हस्ताक्षर गरेर घोषणासभा यही फागुन २८ गते आयोजना गर्ने जनाएका छन् । सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त) का दुई जना अध्यक्ष, राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन् । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाँटलगायत दैनिक कार्यसञ्चालन तीन अध्यक्षको सहमतिमा गरिनेछ ।

संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अङ्गीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्नेछ ।दुवै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच भएको छ । एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका सम्झौतालाई मान्यता दिइनेछ ।

विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीनजना अध्यक्षको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ ।

सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरिने राष्टिय प्रजातान्त्रिक युवा संगठन नेता बिसु खातीले जानकारी दिनुभयो । सहमतिअनुसार हाल कायम रहेका दुवै दलका निर्वाचन चिह्न ६ महिनाका लागि स्थगन गरिएको छ । झण्डाको हकमा हाल प्रयोग भएको राप्रपाको झण्डा प्रयोग गरिनेछ ।

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा (संयुक्त) बाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना र राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा रहेको कार्यदलसमेत गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया