पत्रकार वीरेन्द्र साहको हत्या आरोपी १२ वर्षपछि पक्राउ

  फागुन २५, २०७६

कलैया, फागनु २५ : पत्रकार वीरेन्द्र साहको हत्यारालाई बारा प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक गाविस–गडहल हाल बारागढी गाउँपालिका वडढा नम्बर–६ गडहलटोलका कुन्दन फौजदारलाई उनकै निवासमा सुतिरहेको अवस्थामा प्रहरीले घेराहाली आइतबार राती २ बजे पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले बताउनुभयो ।

पत्रकार साहको हत्या भएको १२ वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । फौजदारलाई नियन्त्रणमा लिनु भन्दा अगाडी प्रहरीलाई देखेर स्थानीयहरुले उनलाई भगाउन प्रयासगर्दा चार राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक पगेनीले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीका कार्यकर्ता समेत रहेका फौजदारलाई बारा जिल्ला अदालतबाट दोषी ठहर भई लामो समयदेखी फरार भई जिल्लामै लुकीछिपी बस्दै आएका थिए ।

पत्रकार साहलाई तत्कालिन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितका नेताले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेर हत्या गरेका थिए । हत्या पछि पत्रकार साहको शव ३४ दिन पछि टाँगिया बस्तीको जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको गोरखापत्र अनलाइनले जनाएको छ ।

पत्रकार साहको हत्या अभियोगमा रामएकबाल सहनी वीरगंजमा कारागार जीवन बिताई रहेका छन् भने तत्कालिन जनसरकार बारा प्रमुख लालबहादुर चौधरी, हरेराम पटेल फरार रहेका छन् ।
साह एभी न्यूज, हिमाल पार्थी, नेपाल खबर पत्रिका, दृष्टि साप्ताहिक, रेडियो नेपाल, मनोकामना एफएम, लगायत आधा दर्जनबढी मिडियामा काम गर्दै आएका थिए ।  

तपाईको प्रतिक्रिया