अवधी कला प्रदशर्नी

  फागुन २५, २०७६

काठमाडौं, फागुन २५ : बबरमहलस्थित आर्ट काउन्सिलको भित्तामा स्वतन्त्रतामा रमाइरहेकी एक युवतीको चित्र झुन्डाइएको छ । रातो र पहेंलो बुट्टेदार पहिरनमा सजिएकी युवती पुस्तक पढिरहेकी छिन् । उत्त चित्र चित्रकार सविना तामाङले आकर्षक शैलीमा क्यानभासमा उतारेकी छिन् । ‘अवधी कला’ शीर्षकमा उनले महिला शिक्षालाई दर्शाएकी छिन् ।

शनिबारदेखि सुरू गरिएको ‘अवधी कला प्रदर्शनी’ फागुन २९ सम्म चल्नेछ । चित्रकार तामाङ महिला सशक्तिकरणको लागि शिक्षा अत्यावश्यक हुने बताउँछिन् । ‘महिलामाथि हुने लैंगिक विभेद तथा महिला हिंसा विरुद्ध उभिन शिक्षा आवश्यक छ ।’ उनले भनिन्, ‘महिलालाई अवसर नदिएसम्म उनी भित्रका क्षमता थाहा हुदैन ।’

महिला शक्तिलाई कलामार्फत प्रस्तुत गरकी अर्की चित्रकार ऐरिना ताम्राकारले ‘शिक्षाको अधिकार’ शीर्षकमा चित्र कोरेकी छिन् । क्यानभासमा उनले आफैंलाई स्वतन्त्र महिला देखाएकी छिन् । शैक्षिक क्षेत्रमा महिलाहरू सहभागिता बढ्दै गएको अवस्थालाई क्यानभासमा उतारेकी छिन् । महिला शिक्षा ले परिवार उज्यालो बनाउने आर्थिक, सामाजिक र सांस्कृतिक स्थितिमा महिलाको पहुँच बढ्न सकेमात्र देश समृद्धितर्फ लम्कने उनको भनाई छ ।

प्रदर्शनीमा कलाकार रागिनी उपाध्यायले ‘शिक्षाको उज्यालो’ शीर्षकमा गुलाबी, निलो र पहेंलो रंगको कमलको फूललाई शिक्षाको पहुँचमार्फत बयान गरेकी छिन् ।

शिवाता लभ फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा रामदयाल ठाकुर, कुमुद सिंह, सितादेवी कर्ण, मन गोल्डी, रामपुजन ठाकुर, हिरा कर्ण, रामवती चौधरी र श्यामसुन्दर अग्रहरीलगायतका कलाकारहरूको कला राखिएका छन् ।

तपाईको प्रतिक्रिया