मदन भण्डारी स्मृति ठमेल रोड रेस : अजित र राजपुरालाई उपाधि

  फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको उपाधि पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ राजपुरा पछाईंले जितेकी छिन् । अजितले निर्धारित पाँच किलोमिटर दूरी १६ मिनेट १४ सेकेण्डमा पूरा गरे ।

यस्तै प्रकाशसिंह ऐरीले सो दूरी १८ मिनेट ५४ सेकेण्ड तथा सन्तोषनाथ योगीले १८ मिनेट १२ सेकेण्डमा पूरा गरी क्रमशः दोस्रो र तेस्रो भए । यसैगरी महिलतर्फकी विजेता राजपुराले निर्धारित पाँच किलोमिटरको दूरी १८ मिनेट २३ सेकेण्डमा पूरा गरिन् । यस्तै सकुन्तला ठगुन्नाले २० मिनेट ५५ सेकेण्ड, तथा अन्ना म्याकेर्डनले २३ मिनेट १५ सेकेण्डमा उक्त दूरी पूरा गरी क्रमशः दोस्रो र तेस्रो भइन् । दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १२ हजार र आठ हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी स्कूलतर्फ छात्र स्पर्धामा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोस्रो तथा अजय तामाङ तेस्रो भए । उक्त स्पर्धाको छात्रातर्फ स्वस्तिका बोहरा पहिलो, सुनिता श्रेष्ठ दोस्रो तथा अन्जु खड्का तेस्रो भइन् । उनीहरूले क्रमशः १५ हजार, आठ हजार र पाँच हजार पुरस्कार प्राप्त गरे । यस्तै पुरुष भेट्रानतर्फ धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोस्रो र राजु भण्डारी तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, पाँच हजार तथा तीन हजार पुरस्कार प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकूद परिषद्का पूर्व सदस्यसचिव एवं प्रदेशसभा सदस्य केशव स्थापित, मदन भण्डारी स्पोर्टस एकेडेमीका महासचिव वचन देउजा, सचिव ओमकृष्ण प्रसाईंलगायतले पुरस्कार वितरण गरे । उक्त अवसरमा १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा एथलेटिक्समा महिलातर्फ १० हजार मिटर दौडकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठलाई २५ हजारसहित सम्मान गरिएको थियो । मदन भण्डारी स्पोर्टस एकेडेमी र रन क्लब नेपालद्वारा आयोजित सो प्रतियोगितामा झण्डै ४०० खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया