पुलिस क्लबः आहा रारा गोल्डकपको सेमिफाइनलमा

  फागुन २४, २०७६

कास्की, फागुन २४ : नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरी विभागीय टोली पुलिस क्लबले प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईको प्रहार गोलमा परिणत हुँदा अनुप लिम्बूको प्रहार सहाराका गोलकिपर अर्पण कार्कीले रोक्न सफल हुनुभएको थियो । सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले मात्र गोल गर्नुभयो । विदेशी खेलाडी उल्रिचको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाउनुभयो भने त्रिदेव गुरुङको प्रहार पोष्टमाथिबाट बाहिर गएको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा पुलिसले खेलको ७८औँ मिनेटमा भरत शाहको गोलमार्फत अग्रता बनायो । पुलिस खेलमा जित नजिक पुगेको अवस्थामा नियमित समयको थप गरिएको चार मिनेटको समयमा अन्तिम मिनेटमा घरेलु टोली सहाराले बराबरी गोल फर्कायो । सहाराका वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका अजय श्रेष्ठले प्रमेश गुरुङको पास सदुपयोग गर्दैै गोल गर्नुभएको हो ।

नियमित समयपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न असफल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको ११९औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा पुलिस १० खेलाडीमा सीमित भएको थियो । खेलमा पुुलिस क्लबका गोलकिपर खड्का ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

खेलपछिको पत्रकार सम्मेलनमा पुलिस क्लबका कप्तान भोला सिलवालले पाएको अवसर सदुपयोग गर्न नसक्दा र अन्तिम केही सेकेण्ड मात्र सम्हालिन नसक्दा टाइब्रेकरसम्म खेल पुगेको प्रतिक्रिया दिनुभयो । सहाराका प्रशिक्षक विष्णु गुरुङले हारजित आफ्नो ठाउँमा रहे पनि एकेडेमीका युवा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो । आगामी चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया