उपराष्ट्रपतिबाट चीनप्रति ऐक्यबद्धता

  फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : उपराष्ट्रपति नन्दबहादुर पुनले प्राणघातक कोभिड–१९ भाइरसका कारण चीनमा भएको मानवीय क्षतिले नेपाल सरकार, नेपाली जनता र आफूलाई गहिरो दुःख लागेको बताउनुभएको छ ।

आफ्ना चिनियाँ समकक्षी वाङ छिसानलाई शुक्रबार एक सन्देश पठाउँदै उहाँले दुःखको यस घडीमा नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट उपराष्ट्रपति वाङमार्फत शोकाकुल परिवारजनमा समवेदना र सहानुभूति प्रकट गर्नुभएको छ ।

कोभिड–१९ विरुद्ध चीन सरकारले लिएको प्रभावकारी कदमको सरहाना गर्दै त्यसको फैलावट रोक्न भएका प्रयासले क्रमशः सफलता हासिल गरेकामा प्रशन्नता पनि व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “हामी चीन सरकार र त्यहाँका जनताप्रति उक्त रोगविरुद्धको लडाइँमा ऐक्यबद्धता प्रकट गर्दछौँ र यो रोगलाई फैलिन नदिन चीन सरकारले गरेका प्रयासमा शीघ्र सफलता मिल्नेमा विश्वस्त छौँ ।”

चीनमा रहेका नेपालीको सुरक्षाका लागि चीन सरकारले गरेका प्रयासप्रति उपराष्ट्रपति पुनले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया