सामूहिकरुपमा लुगा धुने पाउडर उत्पादन गर्दै महिला

  फागुन २४, २०७६

रामपुर, फागुन २४ : पाल्पा रामपुरका महिला आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन् । रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले सम्ूहमा लुगा धुने पाउडर उत्पादन शुरु गरेका छन् ।

यहाँका पाँच महिलाले आयआर्जन लिन र फुर्सदको समय सदुपयोग गर्दै व्यावसायिक तवरले सो पाउडर उत्पादनको थालनी गरेका हुन् । समूहमा आबद्ध पाँच महिला मिलेर तालीम लिएर आएपछि पहिलो चरणमा परीक्षणका रुपमा करिब रु ३० हजार बराबरको लुगा धुने पाउडर उत्पादन गरिसकेको सविता अर्यालले बताउनुभयो ।

महिलाले अहिले शुरुको समय भएकाले थोरैथोरै रकम उठाएर सो पाउडर उत्पादन शुरु गरेको समूहका अर्का सदस्य दिलमाया श्रेष्ठ बताउनुहुन्छ । बिस्तारै लगानी बढाउँदै उत्पादनलाई वृद्धि गरी फुर्सदमा रहेका महिलालाई यस कार्यमा सहभागी बनाउने उहाँको भनाइ छ ।

पहिलो चरणमा परीक्षणका रुपमा उत्पादन गरिएको उक्त पाउडरको उत्पादन राम्रो रहेको र यसको प्रवद्र्धनका लागि वडा कार्यालयले सहयोग गर्ने वडा सदस्य मोहन श्रेष्ठ बताउनुहुन्छ । तालीम लिएर आएपछि महिलाले यसको व्यवसायमा उत्साहजनकरुपमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाले महिलालाई लक्षित गरी सो पाउडर उत्पादन तालीम दिएपछि व्यावसायिकरुपमा महिलाले उत्पादन कार्य शुरु गरेका हुन् ।

नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन महिला विकास शाखाअन्तर्गत रु एक लाख ५० हजार बजेटमार्फत लुगा धुने पाउडर उत्पादनसम्बन्धी तालीम दिएको सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिनुभयो । तालीममा नगरका ३० महिलालाई दुई दिनसम्म उक्त पाउडर उत्पादन तालीम दिएपछि उनीहरुले व्यावसायिक तरिकाले उत्पादन कार्य शुरु गरेका उहाँले बताउनुभयो ।

महिलाले घरमै बसेर पनि लुगा धुने पाउडर उत्पादन गर्न सकिने हँुदा तालीम अत्यन्तै प्रभावकारी रहेको वडा नं ५ स्थित हरितक्रान्ति बहुद्देश्यीय महिला समूहबाट सहभागी तुलसी रेग्मीले बताउनुभयो । चुनढुंगा, सोडा, सेन्ट, क्यामिकललगायत आठ थरीका सामानको मिश्रणबाट सो पाउडर बनाउन सकिने उहाँले बताउनुभयो । बिक्रीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि उपयोगी हुने भएकाले यसको उत्पादनमा महिला आकर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया