वेद कण्ठस्थीकरणमा वैदिक कर्मकाण्ड गुरुकूल शाश्वतधाम पहिलो

  फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : लोप हुँदै गएको श्रुति परम्परा जोगाउने उद्देश्यले कान्तिभैरव गुरुकूल गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीले आयोजना गरेको वेद कण्ठस्थीकरण प्रतियोगितामा वैदिक कर्मकाण्ड गुरुकुल शाश्वतधाम नवलपरासी प्रथम भएको छ ।

प्रतियोगितामा द्वितीयस्थान आयोजक कान्ति भैरव गुरुकूलले नै हात पा¥यो । त्यसैगरी महेश सन्यास आश्रम देवघाट तृतीय भएको थियो । प्रतियोगितामा सान्त्वना पुरस्कार केदारेश्वर वैदिक गुरुकुल पोखराले प्राप्त गरेको थियो । नेपालका प्रथम वेदाचार्य तथा वेद विभागका पहिला प्राध्यापक स्व.प्राडा सोमनाथ पौडेलको शतवार्षिकी तथा कान्तिभैरव गुरुकुल विद्यालयको १३औँ वार्षिकोत्सवका अवसरमा उत्तरवाहिनीमा राष्ट्रिय गुरुकुलस्तरीय वेद कण्ठस्थीकरणा प्रतियोगिता आयोजना गरिएको थियो ।

पौडेलले तत्कालीन महेन्द्र संस्कृत हालको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा वेद प्राध्यापनको शुरुवाती चरणदेखि नै अध्यापन गराउनुभएको थियो । प्रतियोगितामा वेद अध्ययन अध्यापन हुने देशभरका १० गुरुकूलको सहभागिता थियो । प्रतियोगितामा प्रा डा आनन्द घिमेरे र अरुण घिमिरेले वेद वाचन गर्ने गुरुकूलका वटुकको निर्णायकको भूमिका निर्वाह गर्नुुभएको थियो । विजयी गुरुकुललाई भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले वेदध्वनिले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको श्रवण आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

यसैगरी गुरुकूललाई सहयोग गर्ने दाता सुभद्रा विष्ट र लक्ष्मीप्रसाद सुवेदीलाई पनि त्यस अवसरमा गुरुकुलका तर्फबाट सम्मान गरिएको थियो । सो अवसरमा ‘कान्तिप्रज्ञा’ र ‘कान्तिश्वर’ कविता संग्रहको विमोचन गरिएको थियो । कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक तुलसी थपलिया र संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल, आयोजक गुरुकुलका अध्यक्ष प्रा डा ऋषिराम पोख्रेल, प्राडा देवी सुवेदी, डा श्रीराम अधिकारी, १००८ स्वामी केशवानन्द गिरी, पुर्वसचिवद्वय माधव घिमिरे र कृष्ण ज्ञवाली, छन्दकवि बलराम दाहाल तथा कवयित्री भैरवी भुगोल ढुंगानालगायतले श्रुति परम्पराको महत्व बुझाउन यस्ता प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।

प्राचीनकालमा प्रकृतिमा नीहित वेदका मन्त्रलाई ध्यान साधनाका माध्यमबाट ऋषिमुनिले देखेका थिए । वेदका अधिकांश मन्त्र हालको नेपालका हिमालयमुनिका भागमा साधनाका अवसरमा ऋषिमहर्षिले देखेको विश्वास गरिन्छ । यसरी देखिएका मन्त्र अघिल्लो पुस्ताले दोस्रो पुस्तालाई सुनाउने गरेका थिए । यसलाई ज्ञान हस्तान्तरण गर्ने विधिका रुपमा उपयोग गरिएको थियो । यो परम्परा हाल व्रतबन्धका बेला मन्त्र सुनाउने औपचारिक कर्मकाण्डमा मात्र सीमित हुन थालेपछि पुनःजागरणका लागि प्रतियोगिता आयोजना गरिएको गुरुकुलले जनाएको छ ।

तपाईको प्रतिक्रिया