हुम्लामा हिमपात : मुखको बाफले हात सेकेर परीक्षा दिँदै विद्यार्थी

  फागुन २४, २०७६

सिमकोट फागुन २४ : बाहिर हिमापात जारी छ । थर्मोमिटरले पारो माइनस देखाउँदै थियो खुला कक्षा कोठा भित्र विद्यार्थी परीक्षा दिदै थिए । न गतिलो झ्याल छ न कोठा तताउने हिटर नै ।

चिसो निक्कै भए पनि शनिबार बिहानबाट संचालन भएको डिप्लोमा इन सिभिल इन्जिनीयरको पहिलो बर्षको पहिलो सेमेस्टरको परीक्षामा परीक्षार्थीहरुले बाध्य भएर सहभागिता जनाए ।

यसै शैक्षिक सत्रबाट सुरु भएको डिप्लोमा इन सिभिल इन्जिनीयरको पहिलो बर्षको पहिलो सेमेस्टरको परीक्षा निक्कै चुनौतीका बीच सहभागिता जनाउनु परेको परिक्षार्थी भुबन कामीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

बाहिर आधा फिट हिउ जमेको मात्र होइन हिमपात जारी रहेको र परिक्षा हलमा माईनस तापक्रममा पनि परिक्षामा लेख्ने प्रयास गर्दा औला चलाउनै कठिन भएको उहाँले बताउनुभयो । कति पटक त उत्तर पुस्तिकका र पेन अगाडि राखेर मुलबाट निस्कने स्वासले औलालाई तताउनु परेको बिबसता उहाँले सुनाउनुभयो ।

परीक्षार्थीहरुले हलमा परीक्षा सुरु भएको आधा घण्टासम्म औला चलाउन कठिन भए पनि बिस्तारै लेख्न सुरु गरिएको अबस्था देखिन्थ्यो । बाक्लो सल ओढेर परीक्षा हलमा छिर्नु भएकी अर्की परीक्षार्थी ललिता लामाले हिमाली क्षेत्रका विद्यार्थीहरुको पीढा यस्तै रहेको बताउनुभयो ।

परीक्षाको बेला यस्तै अबस्था हुने भएपछि परिक्षार्थीले मनमा लागेको कुरा पनि लेख्न सक्ने अबस्था नभएको उहाँले बताउनु भयो । हातमा पन्जा लगाउनु भएकी लामाले लेख्न कठिन भएपछि त्यो पनि फुकाल्नु भएको थियो ।

चिसोको कारण चाहेको जति लेख्न नपाएको गुनासो उहाँले बताउनुभयो । हिमपात भएपनि पुर्ब तालिका अनुसार परिक्षा सञ्चालन गर्नु परेको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख एवं केन्द्राध्यक्ष बसन्त रोकायाले बताउनु भयो ।

परीक्षाका सामेल विद्यार्थीहरुको अबस्था दयनीय रहेको भए पनि केही गर्न नसकिने उहाँले बताउनु भयो । परीक्षामा सहभागी केही परीक्षार्थीहरुले बिचैमा परीक्षा छोडर जाने जनाए पनि पछि सम्झाएपछि रोकिनु भएको थियो । परिक्षामा १८ जना परिक्षार्थीहरुको सहभागिता रहेको दुई जना अनुपस्थित रहनु भएको छ । परक्षा आगामी चैत्र ८ गतेसम्म सञ्चालन हुनेछ ।

लोक सेवाका परिक्षार्थीलाई पनि सकस
हिमपातले नियमित अध्ययनको परीक्षा दिने परिक्षार्थीहरु मात्र होइन लोक सेवा आयोगको परिक्षार्थीहरुलाई पनि सकस भएको छ । नायब सुब्बा र खरिदारका लागि लोक सेवा आयोगद्धारा सञ्चालन भएको परिक्षामा सामेल भएका परिक्षार्थीहरुले चिसोले शास्ती खेप्नु परेको हो ।

तपाईको प्रतिक्रिया